वीरेन्द्रनगर। राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा झन्डै ६२ प्रतिशत काम भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने र ४६ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित आयोजनाको काम भइरहेको हो ।
कोरोनाका कारण दुई वर्ष आयोजनाको काम प्रभावित हुन पुग्यो । हालसम्म आयोजनामा ६२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लोकनाथ सुवेदीले बताए । उनका अनुसार बाँकी ३८ प्रतिशत काम तीन वर्षभित्र सक्ने गरी भइरहेको छ । गत वर्षको बाढीले नदीमा बाँध निर्माणमा समस्या भएकाले पनि आयोजनाको काममा ढिलाइ भएको उनले जनाए । ‘कुनै अवरोध नआए तीन वर्षभित्र सबै काम सक्ने तयारी छ,’ उनले भने, ‘तोकिएकै समयमा काम सक्ने गरी धमाधम काम भइरहेको छ ।’
आयोजनामा सिभिलतर्फ बाँध र विद्युत् गृह निर्माण भइरहेको छ । जसमा हालसम्म ४५ प्रतिशत काम सकिएको छ । हाइड्रोमेकानिकलतर्फ २५ र इलेक्ट्रोमेकानिकलतर्फ भने १२ प्रतिशत काम भएको छ । तोकिएकै समयमा आयोजनाको काम गर्न छुट्टाछुट्टै ठेक्का सम्झौतामा काम भइरहेको सुवेदीले जनाए । ०७१ चैत १९ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको शिलान्यास गरेका थिए । ३६ अर्ब ८० करोड रुपैयाँ लागतमा निर्माण सकिने अनुमान गरिएको आयोजनामा हालसम्म ५४ प्रतिशत आर्थिक प्रगति भएको छ ।
आयोजनाका मुख्य दुई वटा उद्देश्य छन् । आयोजनाबाट ४६ मेगावाट विद्युत् उत्पादन गर्नु एउटा उद्देश्य हो । लुम्बिनीका बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइने उद्देश्यमा पनि आयोजना अघि बढेको छ । आयोजनाअन्तर्गत पहिलो चरणमा निकै जटिल मानिएको १२ किमि सुरुङ खन्ने काम सकिइसकेको छ । अहिले सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध निर्माण र हात्तीखालमा विद्युत्गृह निर्माण भइरहेको छ ।
तीन वर्षभित्र भेरीको पानी बबईमा खस्ने डिभिजनल इन्जिनियर सुवेदीले जनाए । त्यसपछि विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोड्ने योजना रहेको उनको भनाइ छ । तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढाइने उनले बताए । सुर्खेतको चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने योजना आयोजनाको छ ।
भेरीको पानी बबई नदीमा खसाल्न चिप्लेमा बाँध निर्माणको काम भइरहेको छ । त्यहाँ १ सय १४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ । आयोजना सञ्चालन हुँदा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेंसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्नेछ । यस क्षेत्रमा आयोजनाले प्रभावित स्थानीयलाई मुआब्जा वितरण गरिसकेको छ । कान्तिपुरबाट