काठमाडौं। काठमाडौं गोकर्णेश्वर–१ मा २५ अर्ब भन्दा बढी लागतमा नागमती बाँध निर्माण हुने भएको छ। विस्तृत सम्भाव्यता अध्ययनअनुसार २५ अर्ब ७ करोड ९८ लाख २० हजार रूपैयाँ लागतमा गोकर्णेश्वरमा नागमती बाँध निर्माण गर्न लागिएको हो।
आयोजनाको बाँध नागमती नदी र बागमती नदीको संगमस्थलभन्दा ३ किलोमिटर माथिको मूलखर्क गाउँनजिक गोकर्णेश्वर(१ काठमाडौंमा रहेको नागमती नदीमा शिवपुरी राष्ट्रिय निकुञ्जभित्र कंक्रिट(फेस्ड रकफिल ड्याम प्रकृतिको हुनेछ। यहाँ बाँध निर्माणलगायत संरचना, जलाधार व्यवस्थापन र पर्या–पर्यटन र संस्थागत क्षमता निर्माण गरिने बताइएको छ।
बाँध निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टका लागि वन तथा वातावरण मन्त्रालयले राय सुझाव मागेको छ।
आयोजना निर्माणस्थलमा रहेका ८० हजार २ सय ५८ वटा रुखहरू काटिने, आयोजनाबाट हुने झण्डै ०.२९५ हेक्टर निजी जमिनको स्थायी अधिग्रहणले ३० घरधुरीहरूलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार बाँधको उचाइ ९४.५ मिटर, लम्बाइ ५५४ मिटर र क्रेष्टमा ७ मिटर चौडाइ हुने छ। बाँध निर्माणबाट ४८०, ४२६ वर्ग मिटरमा फैलिएको पूर्ण आपूर्ति स्तरमा ९४.८४ लाख घनमिटर जल भण्डार क्षमताको जलाशय निर्माण हुने छ।
आयोजनाको सञ्चालन तथा मर्मत सम्भार चरणमा, बागमती नदीको पानीको गुणस्तर सुधार हुनुको साथै सामाजिक तथा साँस्कृतिक कार्यको लागि थप बहाव प्राप्त हुने रिपोर्टमा उल्लखे छ। आयोजनाले १.८६ मेगावाट जलविद्युत उत्पादन र वर्षायाममा मेलम्ची आयोजनामार्फत काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई ४५० लिटर प्रतिसेकेण्ड खानेपानी उपलब्ध हुनेछ।