काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव शिवहरी घिमिरेले अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलन भव्य हुने बताएका छन्। इफाप्का सम्मेलनका प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका घिमिरेले विभिन्न समस्या र चुनौतीका बाबजुत पनि आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुने इफाप्काको सम्मेलन भव्य हुने दाबी गरेका हुन्।
उनले भने, ‘हाल सबै क्षेत्रमा समस्या छ। आर्थिक मन्दीको प्रभाव जताततै छ। निर्माण व्यवसायीहरुले नै राज्यबाट पाउने भुक्तानी पाउन सकिरहेका छैनन्। यी विभिन्न समस्या र चुनौतीका बाबजुत पनि इफाप्काको सम्मेलनलाई भव्य बनाउने गरी तयारी गरिरहेका छौं। सम्मेलनको तयारी तीन वर्षअघि देखि नै विस्तारै गर्दै आएका थियौं भने अब दुई महिना मात्र बाँकी हुँदा तयारी निकै अघि बढिसकेको छ।’
संयोजक घिमिरेले इफाप्का सम्मेलनलाई चुनौतीका साथै अवसरका रुपमा समेत लिएको बताएका छन्। उनले भने, ‘इफाप्का सम्मेलन नेपालमा हुनु भनेको सिंगो देशकै निम्ति अवसर हो। पूर्वाधार क्षेत्रमा विदेशी लगानी भित्र्याउनदेखि पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि पनि यो सम्मेलनले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास लिएका छौं।’
भर्खरै मात्र फिलपिन्सको राजधानी मनिला पुगेर अतिथिहरूलाई सम्मेलनको लागि निमन्त्रणा हस्तान्तरण गरि फर्किएका घिमिरेले प्रचार प्रसार र निमन्त्रणाको काम पनि तिव्र गतिमा भइरहेको जानकारी दिए। उनले मनिलामा आफूले फिलिपिनी कन्स्ट्रक्सन एसोसिएशनका अध्यक्ष रोनाल्डो एलिपानो, कार्यकारी निर्देशक इबारा ब्यारी जी. पोउलिन्हो, इफाप्काका कार्यकारी निर्देशक लेभी भी. एसपिरितु, इफाप्कका सचिवालयकी मेलोडी डियोनिसियो लगायतलाई भेटेर सम्मेलनका लागि आमन्त्रण गरेको बताए।
त्यसैगरी ४६औं इफाप्का सम्मेलनका अध्यक्षको भुमिकामा समेत रहेका महासंघका अध्यक्ष रवि सिंह लगायतको टोली आगामी सेक्टेम्बर १५ मा इफाप्काको मुख्य कार्यालय मनिला जाने तयारीमा छन् भने त्यहाँबाट फर्किएपछि भुटान बंगलादेश, माल्दिभ्स लगायतका विभिन्न मुलुकमा प्रचार प्रसार सहित निमन्त्रणाका लागि जाने तयारी रहेको संयोजक घिमिरेले जानकारी दिए।
सम्मेलनका लागि आवश्यक पर्ने रजिष्ट्रेशन सफ्टवेयर, एप, वेभसाइट बनाउनुका साथै डेलिगेट्स क्यु.आर.कोड सहितको डेलिगेट्स ट्याग. किट व्याग र सोको सामग्री. ह्याण्ड्स बुक, स्मारिका, कल्चर प्रोग्राम, हल इक्युपमेण्ट, टुर प्याकेज, होटेल बुकिङ लगायतका कार्यहरुको तयारी समेत महासंघले गरिसकेको छ।
संयाेजक घिमिरेका अनुसार 'Partnering in Sustainable infrastructure' भन्ने नाराका साथ काठमाडाैंमा आयोजना हुन लागेकाे इफाप्का सम्मेलनका लागि करिब ६-७ कराेड खर्च हुने अनुमान गरिएकाे छ।
इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ। हाल महासंघका अध्यक्ष रवि सिंह इफाप्का अध्यक्षको भूमिकामा छन् भने इफाप्का महासचिवमा वीरेन्द्रराज पाण्डे, इफाप्का बोर्ड मेम्बरमा सुशील कुमार श्रेष्ठ छन्। इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, मलेसिया, फिलपिन्स, सिंगापुर लगायतका १८ देश आबद्ध छन् ।
याे पनि:
इफाप्काको तयारी तीव्र, विदेशी अतिथिलाई निम्तो दिन उपमहासचिव घिमिरे मनिला पुगे
४६ औं इफाप्का सम्मेलनलाई सफल बनाउन प्रचार प्रसार समिति सक्रिय