काठमाडौं । संखुवासभा र भोजपुर जिल्लामा प्रस्तावित ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाबाट चार सय ४४ घरधुरी प्रभावित हुने भएका छन्। आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका अनुसार प्रस्तावित परियोजनाका कारण ४४४ घरधुरी प्रभावित हुने भएका हुन्।
प्रभावित घरधुरीमध्ये ९३ प्रतिशत आर्थिक रुपमा र ७ प्रतिशत भौतिक रुपमा विस्थापित हुने जनाइएको छ ।
प्रस्तावित आयोजना ९०० मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको क्यासकेड हो । यस आयोजनाको क्षमता ४७४.२५ मेगावाटबाट ६६९ मेगावाट हुने गरी र सोही अनुसार आयोजनाका लागि आवश्यक संरचनाहरूको डिजाइन समेत परिवर्तन गर्नका लागि पुरक वातारणीय मूल्यांकन अध्ययन गरिएको थियो।
स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन २०२२ र पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन २०२३ को तुलनात्मक अध्ययन गर्दा परिवर्तित डिजाइनमा बाँध र जलाशय नरहने भएको छ ।
अहिले सुरुङको लम्बाइ र अडिटको संख्या बढेको छ । सतही विद्युतगृह र पहुँच मार्ग र परियोजनाको शिविर, उत्खनन् र माटो विसर्जन क्षेत्रको संख्या, अवस्थिति र क्षेत्रफल परिवर्तन गरिएकाले जग्गा र कटान गर्नुपर्ने रुखको संख्या पनि बढेको हो ।
२०२२ मा स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकनमा ५५ मिटर अग्लो बाँध बनाउने गरी अध्ययन भएको थियो । तर, अब बाँध नरहने भएको छ । पहिले विद्युतगृह भूमिगत हुने भनिएको थियो, अब सतही हुनेछ । सुरुङको अडिट संख्या २ रहेकोमा ६ वटा पुर्याइएको छ । सुरुङको लम्बाइ १२.४ किलोमिटरबाट बढेर १७.४ किलोमिटर पुगेको छ । जग्गा पनि १६१ हेक्टरबाट बढेर १८४ हेक्टर आवश्यक पर्ने देखिएको छ । यसैगरी, यसअघि ७६६५ वटा रुख कटान गर्नुपर्ने भनिएकोमा अहिले १६१९८ रुख कटान गर्नुपर्नेछ ।
आयोजनाको निर्माण अवधि भने ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । यो आयोजना सम्पन्न गर्न ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।