काठमाडौँ। सप्तरी जील्लाको कञ्चनरूप नगरपालिकामा दुई वर्ष भित्र घर–घरमा धाराको व्यवस्था हुने भएको छ। सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौँको सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको हो।
नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुरु भएको घोषणा गर्नुभयो। लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको सर्वसुलभ व्यवस्था मिलाउन आयोजनाले सहयोग पुग्ने जानकारी दिए।
अतिरिक्त बोरिङ गर्ने, पाइप जडान गर्नेलगायतका प्रारम्भिक काम सञ्चालनमा आएको कञ्चनरूप खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भुवनबहादुर केसीले जानकारी दिए। सन् २०१८ मै भएको पहिलो सर्वेक्षणअनुसार आयोजनाबाट वडा नं ८ र १२ का सबै तथा वडा नं ४, ७, ९ र ११ का आंशिक गरी चार हजार ४६४ घरधुरीले खानेपानीको सेवा पाउने छन्।
आयोजनाका अनुसार नगरपालिकाको वडा नं १२ को धरमपुर र चर्खिया बस्तीपुर तथा वडा नं ८ को कञ्चनपुर हटियामा निर्माणाधीन स्थलहरू गरी छवटा पुरानैमा तीनवटा बोरिङ थप गरिनेछ। आयोजनाका अनुसार १४० किलोमिटर पाइपलाइन जडान हुने छ। नौवटा बोरिङ र धरमपुर, रूपनगर र कञ्चनपुरमा निर्माणाधीन पानीट्याङ्कीबाट आपूर्ति गरिने खानेपानीको उत्पादन क्षमता कञ्चनपुर र रूपनगरमा प्रतिसेकेण्ड १५ लिटर र धरमपुरमा १० लिटर रहने प्राविधिकले बताए।
परामर्शदाता पिइएविन जेभी र निर्माण व्यवसायी शर्मा–दिवा–सगुन जेभी रहेको उक्त आयोजनाको २०७८ असार २९ गते ठेक्का सम्झौता भएको हो। जम्मा रु ६८ करोड ८४ लाख ९४ हजार ५०८ को लागत अनुमान रहेको यो आयोजना रु ४४ करोड २९ लाख ९ हजार १९९ करसमेत गरी ठेक्का सम्झौता भएको छ।
आयोजनाको काम शर्मा दिवा सगुन जेभीले गर्नेछ र ठेक्का सम्झौतापत्रमा उल्लेख भएअनुसार दुई वर्षभित्रमा पहिलो चरणको निर्माणकार्य सम्पन्न गरिसक्ने छ। यस आयोजनालाई विश्व बैंक (एडिबी) बाट ऋण प्राप्त भएको आयोजनाको व्यवस्थापन कार्यालयले जानकारी दिइएको छ।