महेन्द्रनगर। कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र रहेको छ । पाँचौं पटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौं पटक म्याद थपेको छैन ।
म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए तापनि निर्माण गर्ने छाँट नदेखाएकाले म्याद थपको विषय अन्योलमा परेको छ । उक्त हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका इन्जिनियर दीपक सुनारले निर्माण व्यवसायीले काम थाल्ने अवस्थामा मात्रै म्याद थप हुन सक्ने बताए । उनले भने, ‘काम नगर्ने र म्याद मात्रै थप्ने वातावरण देखिए ठेक्का तोड्ने स्थिति रहेको छ ।’
निर्माण व्यवसायीको काममा म्याद थपको निक्र्योल लाग्ने इन्जिनियर सुनारले बताए । त्यसैगरी पुनर्बास नगरपालिकाको डोकेबजारदेखि वेदकोट नगरपालिकाको दैजी चोकसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ साल फागुनमा काम गर्ने सम्झौता भएको थियो । ३० महिनामा सक्ने गरी तीनवटा प्याकेजमा सम्झौता भए तापनि पाँचौं पटकको म्यादमा रहेर पहिलो प्याकेज (डोकेबजार–बेलौरी) खण्डमात्रै सकिएको हुलाकी राजमार्ग योजना कार्यालयले बताएको छ ।
त्यसैगरी बेलौरीबाट बेलडाँडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडकमात्रै कालोपत्र भएको छ् । उक्त कामको जिम्मा ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए तापनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी नै छ । उक्त निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी योजना कार्यालयको सम्पर्कमा समेत रहेको छैन । उक्त प्याकेजको पहुँच क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न अवरोध गरेको छ ।
त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २४ किलोमिटरमध्ये साढे ८ किलोमिटर सडकमात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताए । उनले भने, ‘उक्त अन्तिम प्याकेजको म्याद थप अन्योल भएकाले निर्माण व्यवसायीले काम गरेको ६५ लाख रकम दिन पनि बाँकी छ भने दोस्रो प्याकेजको काम यही निर्माण व्यवसायीले गर्नेमा आशंका देखियो ।’ त्यसैगरी लामो समय बितिसक्दा पनि निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने भए तापनि बेवास्ता गरेको देखिएको छ ।
इन्जिनियर सुनारका अनुसार, ६।७ महिनामा सकिने काममात्रै बाँकी छ भने उक्त काम गर्ने माहोल नदेखाएकाले समस्या भएको हो । त्यसैगरी कैलालीमा विभिन्न खण्डमा निर्माण भइरहेको हुलाकी सडकका सबै प्याकेजको म्याद रहेकाले काम भइरहेको इन्जिनियर सुनारले बताएका छन् । उनले भने, ‘यो वर्ष बजेट कम विनियोजन भएकाले योजनाका लागि आर्थिक अभावसमेत हुन सक्ने छ ।’ तर, उक्त कार्यका लागि हुलाकी सडक निर्माणमा कैलाली र कञ्चनपुरमा अर्बौं रकम खर्चिएको छ । कारोबार दैनिकबाट