काठमाडौं। ७३ करोड ९ लाख लगानीमा अडिट भवनको निर्माण सम्पन्न भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अनामनगरस्थित महालेखापरीक्षकको कार्यालयको नवनिर्मित अडिट भवनको उद्घाटन गरेकी छन।
सम्बोधन गर्दै कार्यालयले नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेत विचार गरी सरकारी निकायको कारोबार मूल्याङ्कन मार्फत सार्वजनिक वित्तीय क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र स्वच्छता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिइन्।
उनले निर्यातभन्दा आयात बढि भएको, कृषिप्रधान मुलुक कृषि उपजमै परनिर्भर रहेकोले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राज्यका सम्बद्ध निकायलाई घच्घच्याउने जस्ता नीतिगत विषयहरुमा महालेखापरीक्षकबाट प्रभावकारी भूमिका निर्वाह गर्न समेत ध्यानाकर्षण गराएकी थिइन।
कार्यालय भवन उद्घाटन समारोहमा नेपालको सर्वोच्च लेखापरीक्षण संस्था महालेखापरीक्षकको कार्यालयको भवन राष्ट्रपतिबाट उद्घाटन भएकोमा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले हार्दिक आभार व्यक्त गरेका थिए। उनले वि सं २०१६ सालमा स्थापना भएको महालेखापरीक्षकको कार्यालय स्थापनाकालदेखि बबरमहलस्थित भवनमा संचालन हुँदै आएको थियो। २०७२ सालको भूकम्पका कारण उक्त भवनमा कार्यालय सञ्चालन हुन नसक्ने भएकोले विभिन्न स्थानमा भवन भाडामा लिई कार्यालय संचालन गरिएको व्यहोरा जानकारी गराएका थिए।
महालेखापरिक्षक कार्यालयका अनुसार परम्परागत र आधुनिक शैली मिश्रित नवनिर्मित अडिट भवनको कुल अनुमानित लागत ८३ करोड १८ लाख रुपैयाँ रहेको थियो, २०७८ कार्तिक मसान्तमा सम्पन्न हुँदा ७३ करोड ९ लाख रुपैयाँ अन्तिम लागत कायम भएको छ। उक्त भवन निर्माण व्यावसायी लुम्बिनी र गौरी पार्वती र शान्ति जेभीले निर्माण गरेका हुन्। जहाँ भवनको जम्मा ९ तलामध्ये २ तलामा अण्डरग्राउण्ड पार्किङ्ग रहेको छ भने भूँइ तलामा रिसेप्सन, भण्डार कक्ष रहेका छन्।
पुस्तकालय, चमेना गृह तथा अभिलेख व्यवस्थापन कक्ष रहेको छ भने भवनको पहिलो तलादेखि छैठौँ तलासम्म लगभग ५ सय कर्मचारीका लागि कार्यालय भवन प्रयोग हुने र सातौँ तलामा २ सय जना क्षमताको सभाकक्ष रहेको छ। उक्त समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले लेखापरीक्षणको गुणस्तर सुधार एवं सूचना प्रविधिको प्रयोग गरी अन्तराष्ट्रियस्तरको बनाउने प्रयास भैरहेको जानकारी दिए।