जाजरकोट। ८२ मेगावाटको सर्भे लाइसेन्स लिएर अध्ययन अघि बढाइएको जगदुल्ला ‘ए’ जलविद्युत आयोजना १२० मेगावाटमा निर्माण हुने भएको छ । विद्युत विकास विभागले जगदुल्ला हाइड्रोपावर कम्पनीलाई १२० मेगावाटमा आयोजना निर्माण अघि बढाउन सर्भे लाइसेन्स दिएको हो ।
भदौ १५ गते सचिवस्तरीय निर्णयबाट आयोजनाको क्षमता बढाइएको हो । कम्पनीले आयोजनाको ३८ मेगावाट क्षमता बढाउन विभागमा निवेदन दिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले क्षमता बढाएर आयोजना अर्ध–जलाशय प्रकृतिको बनाउने बताए । आयोजना सुरुमा नदी प्रवाहीका रूपमा अघि बढाउन लागिएको थियो । प्रस्तावित आयोजना १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको क्यासकेड हुनेछ । क्यासकेड हुने भए पनि हेडवक्र्स भने निर्माण हुनेछ ।
माथिल्लो आयोजनाको हेडवक्र्सदेखि तल्लो आयोजनाको हेडवक्र्ससम्म नदी करिब ३५ किलोमिटर घुमेर आइपुग्छ । जसमा ससाना खोला मिसिएर दोब्बर पानी जम्मा हुन्छ । सोही पानी उपयोग गर्नका लागि हेडवक्र्स निर्माण गर्न लागिएको हो । सीईओ सापकोटाका अनुसार माथिल्लो आयोजनामा करिब १६ क्युमेक पानी छ । तल्लोमा भने ३२ क्युमेक हुनेछ । जसले आयोजनाको क्षमता बढाउनेछ । अहिले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माणको काम भइरहेको छ । ६ महिनामा डीपीआर तयार पार्ने गरी नेपाल विद्युत प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनीले अध्ययन गरिरहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन )ईआईए) प्रतिवेदन तयारीको काम ईआरएमसी।श्रेष्ठ जेभीले गरिरहेको छ । प्रारम्भिक प्रतिवेदनअनुसार आयोजनाका लागि करिब सात किलोमिटर मुख्य सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । आयोजनाको हेडवक्र्स डोल्पाको मुड्केचुला गाउँपालिकामा रहने छ भने विद्युतगृह (पावर हाउस) जाजरकोटको नलगाड नगरपालिकामा बन्नेछ । निर्माण थालेको चार वर्षमा व्यावसायिक उत्पादन थाल्न सकिने अध्ययनको निष्कर्ष छ । जगदुल्ला हाइड्रोपावर कम्पनीले १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना पनि निर्माण गर्न लागेको छ । यो आयोजनाको अध्ययन पूरा भएको छ ।
विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेर अहिले फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो)को काम भइरहेको छ । करिब २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा चार अर्ब रुपैयाँ ऋण दिने पत्र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले दिइसकेको छ । यही वर्ष ठेक्का निकालेर आगामी वर्ष निर्माणमा जाने तयारी छ । अहिले अन्तिम चरणमा पूर्वतयारीका काम भइरहेको सीईओ सापकोटाले बताए । तल्लो आयोजना निर्माण गर्दा माथिल्लो आयोजनाको लागत दुई अर्ब रुपैयाँ घट्ने अनुमान छ ।
माथिल्लो आयोजनाका लागि कम्पनीले पहुँचमार्ग निर्माण गर्नुपरेको छ । उक्त पहुँचमार्ग तल्लो आयोजनाका लागि समेत उपयोगी हुनेछ । माथिल्लो आयोजनाले अधिग्रहण गरेको जग्गा तल्लो आयोजनाका लागि समेत प्रयोग हुनेछ । ‘तल्लो आयोजनाका लागि नोमिनल जग्गा अधिग्रहण गर्नुपर्छ । हामीले माथिल्लो आयोजनाका लागि बनाएका क्याम्प फ्यासिलिटिज समेत तल्लोले प्रयोग गर्नेछ,’ सीईओ सापकोटाले भने, ‘कर्णालीमा आयोजना बनाउनु परेका कारण माथिल्लो आयोजना महँगो परेको छ । धेरै फ्यासिलिटिज माथिकै प्रयोग हुने भएकाले तल्लो आयोजनालाई तीन।चार अर्ब रुपैयाँको काम गर्नु पर्दैन ।’
सुविधा प्रयोग गर्ने भएकाले माथिल्लो आयोजनाका लागि तल्लो आयोजनाले दुई अर्ब रुपैयाँ दिनेछ । जसले माथिल्लो आयोजनाको लागत घट्नेछ । दुवै आयोजनाका लागि एउटै प्रसारणलाइन निर्माण गरे पुग्छ । तल्लो आयोजनामा पनि विद्युत उत्पादन कम्पनी, प्राधिकरण, एचआईडीसीएललगायत संस्थापक इक्विटी होल्डर रहनेछन् । ‘माथिल्लो र तल्लो आयोजना एकरडेढ वर्षको फरकमा बनाइसक्ने गरी अघि बढाउने तयारी छ,’ सापकोटाले भने, ‘आयोजनामा त्यस्तो ठूलो समस्या छैन । कर्णालीबासी थप आयोजना निर्माण हुने कुराले उत्साहित छन् । स्थानीयको सहयोग रहेकाले काम गर्न सजिलो छ ।’ कारोबार दैनिकबाट