काठमाडौं। ‘माथिल्लो त्रिशूली–१’ जलविद्युत् आयोजनाको औपचारिक शिलान्यास गरिएको छ । कोरियाली लगानीकर्ताको लगानीमा बन्ने आयोजनाको मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले एक विशेष कार्यक्रममा औपचारिक शिलान्यास गरेका हुन्।
आवश्यक भौतिक पूर्वाधार निर्माणसहित २२ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाको बाँधलगायत मुख्य संरचना हेडवक्र्सको कामको शिलान्यास गरिएको हो।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपालले जलविद्युत्को स्वदेशी खपतका अतिरिक्त विदेश निर्यातका लागि पनि अनकूल वातावरण निर्माण गरेको बताउँदै, जलविद्युत्को विकासमार्फत आर्थिक रूपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले पर्याप्त नीतिगत व्यवस्था गरिरहेको बताए।
उनले भने, “स्वदेशमै खपत विस्तार गर्न पूर्वाधार विस्तार व्यापक भइरहेको छ। विदेश निर्यातका लागि पनि हामीले भारतसँग १० वर्षमा १० हजार मेगावाट बिक्री गर्ने सम्झौता गरेका छौँ, बङ्गलादेश पनि हामी नेपालको बिजुली पुर्याउने छौँ ।”
काठमाडौँ उपत्यकाबाट करिब ७० किलोमिटर दुरीमा रहेको २१६ मेगावाट क्षमताको यो आयोजना निर्माण आगामी सन् २०२६ सम्ममा सम्पन्न गरिसक्ने आयोजना प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको लक्ष्य छ ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको आयोजनामा स्थानीय लगानीकर्ताको १० प्रतिशतबाहेक सबै स्वामित्व तथा ऋण विदेशीकै रहेको छ । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी १९ करोड ४२ लाख अमेरिकी डलर रकम स्वपुँजी ९इक्विटी० बाट जुटाइएको छ ।
आयोजनाका लागि रसुवाको आमाछोदिङमो गाउँपालिकाको हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृहलगायतका संरचना बन्ने छन् । बर्सातको अन्त्यसँगै बाँध संरचना निर्माण थाल्ने जनाइएको छ ।