काठमाडौं। ललितपुर महानगरपालिका वरिपरिका सडकका जेब्रा–क्रसिङमा सेता धर्सासँगै खाली भागमा जनावरका पाइलाका चिन्ह थपिएका छन्। जनावरहरूको कल्याणका लागि काम गरिरहेको संस्था स्नेहाज केयरले करिब एक महिनादेखि ललितपुरका जेब्रामा यस्तो चिन्ह बनाइरहेका छन्।
संस्थाकी प्रमुख स्नेहा श्रेष्ठले आफूहरुले ललितपुर महानगरपालिका र सडक विभागसँगको सहकार्यमा चिह्न राखेको बताएकी छन्।
संस्थाले जसरी जेब्रा–कस्रिङमा हिँड्दा मान्छेलाई प्राथमिकता दिइन्छ, त्यसरी नै जनावरलाई पनि प्राथमिकता दिनुपर्छ भन्ने धारणा सबैमा जागरित गराउन यस्तो गरेको अध्यक्ष श्रेष्ठले बताइन् । सडक जति गाडी र मान्छेका लागि हो, जनावरका लागि पनि उतिनै भएकाले सवारी चालकहरूलाई बाटो काट्नेमध्ये जनावरहरू पनि हुन् है भन्ने सचेतना दिन आफूहरुले जेब्रामा जनावरको पाइला बनाएको संस्थाले जनाएको छ।
हरेक महिना २५ देखि ३० वटा जनावरलाई सवारीले ठक्कर दिएर भाग्ने गरेको तथ्यांक सुनाउँदै अध्यक्ष श्रेष्ठले जनावरलाई पनि मानिसलाई झैँ प्राथमिकता दिनुपर्ने धारणा राखेकी छन् ।
स्नेहाजले ललितपुर महानगरसँग सहकार्य गरेर सन् २००९–२०१० देखि नै महानगर वरिपरिका जनावरलाई हरेक वर्ष खोप लगाउने, छाडा चौपायालाई व्यवस्थापन गर्ने र घाइतेलाई उपचार गर्ने काम गर्दै आएको छ।
जनावरप्रतिको सम्मान र मायाका कारण यस संस्थाले गरेको यस कार्यबाट दैनिक हुने दुर्घटनामा केही कमि आउन सक्ने देखिएको छ। जनावरलाई प्राणी नै नसम्झि दुर्घटनाबाट बचाउनको साटो लापरबाही गर्ने सवारी चालकमा पनि यस कार्यले चेतना जगाउने छ।
जनावरप्रति लापरबाही गरिरहँदा कतिपय अवस्थामा दुर्घटनामा परी मानिसकै पनि मृत्यु हुने गरेको समाचार आइरहेका हुन्छन्। यस संस्थाको यस्तो चतनाामुलक कार्यले सवारी दुर्घटनामा कमि आउने सम्भावना बढेको पैदलयात्रीहरुको भनाइ छ।