काठमाडौँ। बागलुङको बडिगाड गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ। हाल अत्याधुनिक सुविधा सम्पन्न भवनको फिनिसिङको कामले तीव्रता पाएको हो।
काठमाडौँको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन्। जनतालाई सेवा सुविधामा सरलता प्रदान गर्नका लागि अहिले स्थानीयतहमा धमाधम प्रशासनिक भवन ठडिन थालेका छन्। जसमध्ये बडिगाड गाउँपालिकाको केन्द्र खार बजारमा प्रशासनिक भवनको निर्माण अहिले अन्तिम चरणमा पुगेको बडिगाड गाउँपालिकाले जनाएको छ।
उक्त भवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न भवन हुनेछ। त्यस्तै ताराखोला सुविधा सम्पन्न भवनसमेत अहिले निर्माण भइहेको छ। १० स्थानीय तह रहेको बागलुङ जिल्लामा अहिले बडिगाड र ताराखोला गाउँपालिकाको मात्रै अत्याधुनिक प्रशासनिक भवन निर्माण भइरहेको हो।
अन्य पालिकाले भने भवन निर्माणका लागि जग्गाको टुङ्गो लगाइसकेका छन् भने केही स्थानीय तहको भने अन्योल अझै कायम रहेको छ। बडिगाड गाउँपालिका–५ ग्वालिचौरस्थित खार बजारमा स्थानीयवासीले निःशुल्क रुपमा गाउँपालिकाको नाममा ११ रोपनी जग्गा प्रदान गरेपछि गत वर्षदेखि प्रशासनिक भवन निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीका अनुसार भवन निर्माणको कामप्रति सन्तुष्ट छौं, तीन चार महिनामा हस्तान्तरण होला भन्ने विश्वास गरेका छौं। गण्डकी प्रदेशमानै यस्ता अत्याधुनिक भवन आधा दर्जन होलान, जिल्लामा यस्तो सुविधासम्पन्न भवन कतै बनेको छैन, भवनमा लिफ्ट, अपाङ्ग मैत्री, भूकम्पप्रतिरोधी लगायतका विशेषता छन्।
तीन तलाको भवनबाट गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवा तथा पालिकाका अन्य शाखा सञ्चालनका लागि अत्यन्तै सहजहुने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए। रु पाँच करोड २२ लाखको लागतमा २०७७ जेठ १६ गते माउन्डेन कविन्द्र जेभीसँग १८ महिनामा सक्नेगरी निर्माण सम्झौता भएको थियो। कोरोना महामारीका कारण चार महिना ढिलोगरी काम सुरु भएको भवनको अहिले रङ्गरोगन, विद्युतीय काम, टायल, मार्बल तथा झ्याल ढोकाको मात्रै काम रहेको माउन्टेन कविन्द्र जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र अर्यालले बताए।
अहिले पालिकामा प्रशासनीक भवन बाहेक अन्य भौतिक संरचनासमेत धमाधम निर्माण भइरहेका छन्। पालिकाका १० वडामध्ये ८ वटा वडा निर्माणले तीव्रता पाएको छ। कार्यालय परिसरमा पार्कीङको व्यवस्थासमेत हुनेछ भने भवनको माथिल्लो तलामा सुविधा सम्पन्न सभाहल हुनेछ। हाल भाडाको साँघुरो घरबाट सेवा दिइरहेको छ। अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा दिँदा नागरिकलाई समेत सहज हुने गाउँपालिकाको अपेक्षा छ।