काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसियाली मुलुकबीच सहकार्य हुनुपर्ने बताएका छन्। जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आर्थिक संकट समाधान गर्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्ने बताएका हुन्।
हाल विश्वका विभिन्न स्थानमा विविध विषय र क्षेत्रका अलग–अलग समस्या उत्पन्न भइरहेका र यसका कारण बहुआयामिक चुनौतीहरू देखापरेकाले ती समस्याको समाधान गर्न एसियाली क्षेत्रमा सहकार्य र सहयोग हुनुपर्ने उनको भनाइ छ।
अध्यक्ष ढकालले शान्ति र स्थायित्वबिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरू दोहोराउँदै, यस क्षेत्रका मुलुक र निजी क्षेत्रबिचको सहकार्य र समन्वयबाट मात्र यी चुनौतीको सामना गर्न सकिने बताए।
ढकालले द्रुत ‘डिजिटलाइजेसन’ र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को एकीकरणतर्फ पनि ध्यानाकर्षण गराए । उनले सम्भावित असमानताहरूलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताए।
ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौला उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक संवादको सुदृढीकरणमा नेपाल प्रतिबद्ध रहेको समेत बताए।