काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकास गर्न सरकार र निजी क्षेत्र सँगै अगाडि बढ्नुपर्ने बताएकी छन्।
युनियन अफ आइसिटीएस प्रोफेसनल्स नेपालले शुक्रबार आयोजना गरेको ‘नेपालमा दिगो रोजगारी आर्थिक वृद्धिका लागि सञ्चार क्षेत्रको सुदृढीकरण’ विषयक सामाजिक संवादका अवसरमा मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिएकी हुन्।
संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले सबै सरोकारवालाको ध्यान सूचना प्रविधिको विकासमा हुनुपर्ने बताइन्।
सूचना तथा सञ्चार प्रविधिको विकासका लागि सरकारले नीति, कानुन र पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘सरकारले चालु आर्थिक वर्षको बजेटबाटै आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ सूचना प्रविधि क्षेत्रलाई पनि समेटेर सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेको छ।’
सूचना प्रविधिमा आधारित उत्पादन वृद्धि र रोजगार प्रवद्र्धनका लागि सङ्घीय सरकारले कानुन, पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान केन्द्रित भएको भन्दै उनले प्रदेश र स्थानीय तहलाई पनि यसका लागि मन्त्रालयले प्रोत्साहन गरिरहेका बताए ।
पूर्वाधारको पहिलो सर्त ‘कनेक्टिभिटी’ भएकाले मुलुकभर द्रुत गतिको इन्टरनेटको पहुँच विस्तार गर्दै सूचना प्रविधि ज्ञान पार्क स्थापना गर्न सकियो भने देशका जुनसुकै ठाउँमा बसेर पनि सूचना प्रविधिमा आधारित उद्यम सञ्चालन गर्न सकिने उनको भनाइ छ ।