जनकपुरधाम। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहादेखि पश्चिम बाराको पथलैयासम्म चार लेन सडक निर्माणकार्य सुरु भएको छ । विश्व बैंकको ८८ अर्ब सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक निर्माण गर्न लागेको हो । यो सडक निर्माण कार्य सम्पन्न भएपछि चार लेनको हुनेछ । २०२१ सालमा तत्कालीन सोभियत संघको सहयोगमा दुई लेनको पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माण भएको थियो ।
सोही सडकमा सिरहादेखि पथलैयासम्म चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत उक्त सडक फराकिलो पार्ने कार्य थालिएको पथलैया, ढल्के, कमला सडक योजना कार्यालयका प्रमुख दिपेन्द्र पाण्डेले बताए । उनले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत १३० किलोमिटर सडकलाई पथलैया ढल्के र ढल्केवर कमला गरी दुई प्याकेजमा विभाजन गरेर अहिले सो सडकको दायाँ बायाँका संरचना हटाउने कार्य सुरु गरेको छ ।
यस योजनाअन्तर्गत निर्माण हुने १३० किलोमिटर सडकमा जंगल क्षेत्रसमेत पर्ने र सो सडक २७ मिटर चौडा र सहरी क्षेत्रमा ५० मिटर चौडा गरी बनाइने लक्ष्य छ । बस्ती र सहरी क्षेत्रमा ५० मिटर लिइने जग्गामा चार लेनको सडकसँगै नाला, सडकपेटीसहित साइकल लेनसमेत निर्माण गरिने कार्यक्रम रहेको बताइएको छ । एउटा लेन ३.५ मिटरको हुने सडकको दायाँबायाँ दुवै छेउमा रुख बिरुवा तथा फलफूल रोपिने सडकको दायाँबायाँ २.५ मिटर अतिरिक्त कालोपत्रे योजना रहेको सो कार्यालयले जनाएको छ ।
चार लेनको सडक निर्माण भइरहेकाले बागमती र कमला नदीको पुलबाहेक सो सडकमा सानाठूला गरी ७२ वटा पुल निर्माण गरिने छ । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडक भएर वारपार गर्ने जंगली जनावरका लागि एनिमल पासब्रिज निर्माण गरिने योजना छ । साथै पानी नेटवर्कको पाइपलाइन, विद्युत र वातावरण संरक्षणको विविध पक्षलाई ध्यानमा राखी उक्त सडक निर्माण गर्न लागिएको छ । यसका साथै सडकको दायाँबायाँ क्षेत्रभित्र रहेको घरटहरा संरचना हटाउने, रुख कटान गर्ने र विद्युत पोल सार्नेजस्ता काम सुरु गरिएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैयादेखि कमला नदीसम्म १३० किलोमिटर लामो सडकलाई स्तरवृद्धि गरी चार लेनको बनाउन ठेक्का लगाई काम सुरु गरिएको छ । सो क्षेत्रमा तीन हजार ८७१ रुख कटान गर्ने र प्रति १० वटा रुख बराबरको दरले तीन लाख आठ हजार २७० वटा रुख बिरुवा रोप्ने कार्यक्रम छ । अहिले सो क्षेत्रको दुई लेनको सडकमा दैनिक हजारौं सवारीसाधन ओहरदोहर गर्दा चाप बढी भएर दुर्घटनासमेत हुने गरेको छ भने चार लेनको सडक विस्तार भएपछि सवारी साधनलाई आवतजावतमा सहज हुने विश्वास लिइएको छ। कारोबार दैनिकबाट