म्याग्दी। धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा सञ्चालित छन्त्याल होमस्टे (घरबास) को खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन्। होमस्टेप्रतिको आकर्षण बढेसँगै यहाँ आन्तरिक पर्यटकको संख्या पनि बढ्न थालेको छ।
प्राकृतिक सुन्दरता, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा पुग्ने पर्यटकको खाने, बस्ने सुविधाका लागि स्थानीयवासीले होमस्टे सुरु गरेपछि यहाँ पुग्ने पर्यटकलाई सजिलो भएको छ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको गुर्जा गाउँमा होमस्टे सञ्चालन गरिएको हो ।
गुर्जाका छ घरमा ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जावासीले फूलमालाले स्वागत गर्नुका साथै छन्त्याल संस्कृति पस्कने छन् । होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फापरको रोटी, ढिँडोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ ।
छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु तथा पृष्ठभूमिमा देखिने हिमालको सुन्दरता गुर्जा गाउँको आकर्षण हो । गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई थप लोभ्याउँछ ।
लुलाङदेखि जङ्गल र भिरको बाटो आठ घण्टाको पैदलयात्रापछि पुगिने गुर्जादेखि ढोरपाटन सिकार आरक्षको रुघाचौर जोड्ने सिकारी पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको १० लाख अनुदानमा निर्माण गरिएको पदमार्गको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ ।