दाङ। बजेट अभावले घोराहीमा वधशाला निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । मासु पसललाई व्यवस्थित गरी एकद्वार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्री गर्ने उद्देश्यले निर्माण सुरु भएको वधशाला अलपत्र परेको हो । आर्थिक २०७६/७७ मा गुरुयोजना बनेर २०७७/७८ बाट निर्माण सुरु भएको वधशाला बजेट अभावका कारण पूरा हुन सकेको छैन।
घोराही उपमहानगरपालिका वडा नं. १४ कपासीको २२ कट्ठा जग्गामा निर्माण गर्न थालिएको वधशालाको कामअघि बढ्न नसकेको कपासी टोल विकास संस्थाका सचिव चन्द्र केसीले बताए । वधशालासँगै टोल विकास संस्थाका लागि कार्यालय, खानेपानीलगायतका पूर्वाधार निर्माण गर्ने सहमति भए पनि अहिलेसम्म वधशाला निर्माणले पूर्णता पाउन नसकेको सचिव केसीले बताए ।
‘वधशाला निर्माणसँगै कपासी टोललाई खानेपानीको व्यवस्था गर्ने, संस्थाका लागि भवन निर्माण गर्नेलगायतको सहमति भएको थियो’, सचिव केसीले भने, ‘तर अहिले वधशाला निर्माणकै काम हुन सकेको छैन, जसले गर्दा दुई वर्षदेखि वधशाला निर्माणको काम अलपत्र परेको हो ।’ वधशालाका लागि प्रशासनिक भवन, पशु चेकजाँच कक्ष र मासु बिक्रीका लागि १० वटा सटर निर्माण गरिए पनि बाँकी संरचना निर्माण हुन नसक्दा अलपत्र परेको हो ।
गुरुयोजनाअनुसार वधशाला निर्माणका लागि करिब १० करोड रुपैयाँको लागत भए पनि अहिलेसम्म करिब ३ करोड रुपैयाँबराबरको मात्रै काम भएको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल बताए । उनका अनुसार उक्त रकम प्रशासनिक भवन, पशु चेकजाँच कक्ष, मासु बिक्री कक्षसँगै डिपिआर बनाउनमा खर्च भएको छ ।
वधशाला निर्माणका लागि बजेट अभाव हुँदा दुई वर्षदेखि निर्माणको काम अघि बढ्न नसकेको महाशाखा प्रमुख पौडेलले बताए । महाशाखा प्रमुख पौडेलले भने, ‘प्रदेश सरकारले ३ करोड रुपैयाँ दिएपछि प्रशासनिक भवन, सटरलगायतका भवनहरू निर्माण भए । तर, पानीका लागि डिपबोरिङ, ओभरहेड ट्यांकी, खसी, बाख्रा, कुखुरा, राँगालगायतका राख्ने ठाउँलगायतका अन्य संरचनाहरू बनाउन बाँकी नै छन् ।’
प्रदेश सरकारबाट पहिलो वर्ष बजेट विनियोजन भए पनि गत वर्ष र यो वर्ष बजेट नै विनियोजन हुन नसकेको महाशाखा प्रमुख पौडेल बताउँछन् । तर, घोराही उपमहानगरपालिका वडा नं। १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगी भने स्वामित्व लिएको उपमहानगरले बजेट व्यवस्थापन गरेर वधशाला निर्माणको कामलाई अघि बढाउनुपर्नेमा जोड दिन्छन् ।
उपमहानगरपालिकाको राम्रोका लागि निर्माण हुने कामलाई बेवास्था गरेको उनी बताउँछन् । ‘आफ्नो क्षेत्रमा निर्माण हुन थालेको वधशालाप्रति उपमहानगरपालिकाले चासो दिने र बजेटको व्यवस्था गरेर निर्माणलाई अघि बढाउनुपर्छ’, निवर्तमान वडा अध्यक्ष डाँगीले भने, ‘करोडौं रुपैयाँ खर्च गरेर निर्माण अघि बढेको वधशालालाई अलपत्र पार्ने काम गर्नु हुँदैन ।’
दैनिक २ हजारदेखि २५ सय केजीसम्म मासु खपत हुने घोराही बजारमा वधशाला नहुँदा मासुको बजार व्यवस्थित हुन नसकेको व्यवसायीहरू नै बताउँछन् । सोही कारण व्यवसायीहरूले जहाँ पायो त्यहीँ राँगा र खसीबाख्रा काट्ने र बिक्री गर्दा मासु बजार व्यवस्थित हुन नसकेको महाशाखा प्रमुख पौडेलले बताए ।
उनले भने, ‘मासु बजारलाई व्यवस्थित गर्ने उद्देश्यले वधशाला निर्माण हुन लागेको हो, तर बजेटको सुनिश्चिता नै हुन सकेन । जसले गर्दा दुई वर्षदेखि काम हुन सकेको छैन ।’ वधशाला निर्माणको काम रोल्पा निर्माण सेवा र लक्ष्मीपूजा कन्स्ट्रक्सनले गर्दै आएका छन् । वधशाला निर्माणमा चालु आर्थिक वर्षमा घोराही उपमहानगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ । कारोबार दैनिकबाट