तनहुँ। तनहुँ जलविद्युत आयोजनाको सहयोगमा एक विद्यालयको भवन निर्माण गर्न सुरु भएको छ। आयोजनाको सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत् तनहुँ जिल्लाको भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको हो।
भवन निर्माणका लागि नगरप्रमुख दधिराज सुवेदीले शिलान्यास गरेका छन्। शिलान्यासका क्रममा नगरप्रमुख सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।
आयोजनाबाट असर पर्ने क्षेत्रमा आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार क्षेत्रमा गरेको काम सकारात्मक रहेको उनको भनाइ छ ।
९४ लाख ५७ हजारको लागतमा निर्माण सुरु गरिएको भवन २०८१ माघ २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।
विद्यालयको भवन जीर्ण रहेकाले नयाँ भवनको आवश्यकता खड्किएको बेला आयोजनाको सहयोगले पठनपाठनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त आयोजनामार्फत् व्यास नगरपालिका ५ वेनीपाटनमा पराशर माध्यमिक विद्यालयको भवन पनि निर्माण भइरहेको छ ।
नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयको दुई तले आठ कोठा भवनको काम भइरहेको हो ।
भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको छ ।