बझाङ । गत कात्तिक पहिलो साता आएको बाढी र पहिरोले खानेपानीका मुहान, इन्टेक, ट्यांकी, पाइपलाइन, धारालाई क्षतिग्रस्त बनाइदिएपछि जिल्लामा खानेपानीको समस्या भएको छ ।
जयपृथ्वी नगरपालिका–१, पिमी गाउँमा करिब एक करोड लगानीमा निर्मित भेरा खानेपानी योजना आएपछि पानीको अभाव थिएन । यो धाराबाट चौबीसै घण्टा पानी आउँथ्यो । केही परिवारले पहिला नै निर्माण भएको गौडा खानेपानी योजनाका धाराबाट पानी खान्थे । कात्तिकमा आएको बेमौसमी बाढी पहिरोले भेरा खानेपानी योजनाको मुहान नै बगाइदियो । गौँडा खानेपानी योजनाको पाइप दर्जनौँ ठाउँमा पहिरोले बगाएपछि दुवै योजना बन्द भए । खानेपानी योजनाका सबै संरचना बाढीले बगाएपछि पाँच किलोमिटर टाढा पुगेर पानी खानुपर्ने बाध्यता रहेको यहाँका स्थानीयको दुखेसो छ।
बाढी पहिरोले जिल्लाको खप्तड छान्ना गाउँपालिकामा मात्रै ६६ वटा खानेपानी योजनामा क्षति भएको छ। पालिकाभर खानेपानी योजना क्षतविक्षत हुँदा करिब दुई हजार चार सय परिवारका १३ हजारभन्दा बढी स्थानीय स्वच्छ खानेपानीबाट वञ्चित भएका छन्।
जयपृथ्वी र बुंगल नगरपालिका, खप्तडछान्ना, बित्थडचिर, केदारस्युँ, थलारा, छबीस पाथीभेरा, दुर्गाथली, सुर्मा, तल्कोट र मस्टा गाउँपालिकाका दर्जनौँ गाउँमा खानेपानीको संकट सुरु भएको छ । कतिपय खानेपानी आयोजना मर्मतपछि सञ्चालन गर्न सकिने भए पनि धेरै जसोको मुहान नै बगेकाले पुनर्निर्माण गर्न समेत समस्या भइरहेको पालिकाहरूले जनाएका छन् ।
बाढी पहिरोले खानेपानीका संरचनामा क्षति पुर्याउँदा जिल्लामा २० हजारभन्दा बढी घरधुरीमा खानेपानीको संकट देखिएको प्रारम्भिक अनुमान भए पनि यकिन तथ्यांक आउन सकेको छैन ।