जुम्ला। कर्णालीकै व्यस्त तथा यात्रुको बढी चाप हुने जुम्ला विमानस्थल विस्तार हुने भएको छ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेसँगै जुम्ला विमानस्थल स्तरवृद्धिको बाटो खुलेको हो ।
यद्यपि विमानस्थल विस्तार हुनेमा भने जुम्ली नागरिक ढुक्क छैनन् । गत वर्ष २०७९/०८० मा विमानस्थल विस्तारका लागि विनियोजित एक करोड बजेट खर्च नभएर फ्रिज भएको थियो । २०७६ साल यता वर्षेनी एयरपोर्ट विस्तारको रटान लगाए पनि परिणाम देखिएको छैन । तर चालु आव २०८०/०८१ मा अर्थ मन्त्रालयले चार करोड ४२ लाख रुपैयाँ विनियोजन गरेसँगै विमानस्थल विस्तारको आशा जागेको छ ।
२०५१ सालमै निर्मित पुरानो टर्मिनल भवनमै विमानस्थल चलेको छ । ६७० मिटर लम्बाइ, २० मिटर चौडाइ भएको धावनमार्गमा विभिन्न समयमा ठूला दुर्घटना भइसकेका छन् । २०७५ सालमा नेपालगन्जबाट उडेको तारा एयरको विमान जुम्ला विमानस्थलको धावनमार्गमै दुर्घटना भएपछि एयरपोर्ट विस्तारको बहस चर्को रूपमा चलेको हो । तर पाँच वर्षपछि विमानस्थल विस्तारका लागि चार करोड ४२ लाख रुपैयाँ विनियोजन भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार अर्थ मन्त्रालयमार्फत् विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकाले आवश्यक समन्वय गर्न जुम्ला नागरिक उड्डयन कार्यालयलाई निर्देशन दिएको छ । हाल विनियोजित चार करोड ४२ लाख बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण र अप्रोनदेखि जहाजसम्म जाने बाटो (टयाक्सी वे) लगायतका संरचना निर्माण हुने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए ।
तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभए पनि चाडै केही रकम विनियोजन हुने आशा रहेको उनको भनाइ छ । जुम्लाकी सांसद छिरिङ ल्यामु लामा तामाङले लामो प्रतीक्षापछि जुम्ला विमानस्थल विस्तारको बाटो खुलेको बताइन् । सबैको साझा प्रयासमा चालु आवमा कार्यान्वयन हुने गरी चार करोड ४२ लाख बजेट विनियोजित गराउन सफल भएको उनको भनाइ छ ।
यद्यपि आफूले सांसद पदको सपथ खाएसँगै विमानस्थल विस्तारका लागि बजेट जुटाउन पहल गर्दै आएको उनको दाबी छ । अब जग्गा अधिग्रहणका लागि बजेट व्यवस्थापनमा जुट्ने उनले उल्लेख गरिन् ।
जग्गा अधिग्रहणका लागि छैन बजेट
जुम्ला विमानस्थलको धावनमार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्ने तयारी छ । प्राधिकरणले पत्रसमेत पठाइसकेको छ । तर बजेट नपठाएका कारण जग्गा अधिग्रहणको काम अघि बढ्न सकेको छैन । जुम्ला विमानस्थलका लागि १८४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।
जसमा ३५० मिटर पूर्वतिर र पश्चिमतिर ९२ मिटर जग्गा अधिग्रहण गर्ने तयारी छ । त्यसका लागि ४८ करोड बजेट आवश्यक पर्ने अनुमान छ । तर अर्थ मन्त्रालयले चार करोड ४२ लाख विमानस्थल विस्तारका लागि विनियोजन गर्दा जग्गा अधिग्रहणका लागि भने बजेट छुयाएको छैन ।
जग्गा अधिग्रहणको लागि बजेट जुटाउन अर्थमन्त्रीदेखि क्यानका डिजीलाई समेत निरन्तर हारगुहार गरिरहेको जुम्लाकै सांसद कान्तिका सेजुवालले बताएकी छन् । जग्गा अधिग्रहणका लागि चालु आवमा न्यूनतम २० करोड छुट्याइदिन माग गरेको उनको भनाइ छ । जग्गा अधिग्रहण नगरी विमानस्थल विस्तार हुन नसक्ने देखिन्छ ।
जग्गा अधिग्रहण नभएकै कारण गत वर्ष पनि विनियोजित बजेट खर्च नभएर फिर्ता भएको हो । सरकारले जग्गा अधिग्रहणका लागि समयमै बजेट विनियोजन नगरेको खण्डमा चार करोड ४२ लाख रकम पनि फिर्ता हुने देखिन्छ । त्यसैले बजेट व्यवस्थापनमा सांसददेखि स्थानीय नेताको दबाब जरुरी रहेको समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए । कारोबार दैनिकबाट