काठमाडौं। पर्यटन क्षेत्रमा बढी योगदान गर्ने कम्पनी तथा व्यवसायीलाई नेपाल सरकारले सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा सेभेन समिट ट्रेक्स प्रालि, सीता वर्ल्ड ट्राभल नेपाल प्रालि, एभरेष्ट हस्पिटालिटी एण्ड होटल, नेपाल वायुसेवा निगम लगायत छन्।
सेभेन समिट ट्रेक्स प्रालिले १ अगस्ट २०२२ देखि २०२३ अगस्टसम्म सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेकोमा सम्मान गरिएको छ। यो कम्पनीले २३ लाख २२ हजार ६४ अमेरिकी डलर मुद्रा आर्जन गरेको थियो ।
सीता वर्ल्ड ट्राभल नेपाल प्रालि ट्राभल तथा टुर्समा बढी विदेशी मुद्रा भित्राएवापत सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ३३ लाख ६१ हजार १३६ डलर भित्राएको थियो ।
एभरेष्ट हस्पिटालिटी एण्ड होटल होटल तथा रिसोर्टतर्फ बढी विदेशी मुद्रा भित्राएवापत सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ५० लाख ४१ हजार २३७ डलर भित्राएको देखिएको छ ।
पोखरा अष्ट्रा साहसिक खेलतर्फ सम्मानित भएको छ । यो कम्पनीले एक वर्षमा ४४ हजार ३८८ अमेरिकी डलर विदेशी मुद्रा भित्राएको हो ।
एयरलाइन्स कम्पनीतर्फ नेपाल वायुसेवा निगम सम्मानित भएको छ । यो कम्पनले एक वर्षमा ८ करोड ४५ लाख ९ हजार ९३७ अमेरिकी डलर विदेशी मुद्रा नेपाल भित्राएको छ । आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात र कुखुरा पालन गरी एग्रो टुरिजम प्रवर्द्धन गरेको लुम्बिनी ग्रीन रिसोर्ट शिवराज कपिलवस्तु समेत सम्मानित भएको छ ।
होमस्टेतर्फ अमलटारी होमस्टे नवलपरासी सम्मानित बनेको छ ।