काठमाडौं। बाँकेको नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय र प्रभावकारी विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको कोहलपुर-नेपालगञ्ज प्रसारण लाइनको शिलान्यास गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बुधबार एक समारोहका बीच नेपालगञ्जमा सो सवस्टेशनको शिलान्यास गरेका हुन् ।
सो प्रसारण लाइनको क्षमता एक सय ३२ किलोभोल्ट रहेको छ । यस्तै, ३३ केभी क्षमताको सवस्टेसनको पनि आजै शिलान्यास भएको छ ।
सो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र सर्वसुलभ विद्युत् आपूर्ति गर्ने लक्ष्य राखिएको सो प्रसारण लाइनको निर्माणपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा थप सहजता पैदा हुने आयोजनाले जनाएको छ।
सो अवसरमा ऊर्जामन्त्री बस्नेतले आन्तरिकरूपमा बिजुलीको खपत बढाउन सरकार लागि परेको बताए । सोही उद्देश्य परिपूर्तिका लागि प्रसारण लाइनको निर्माण तथा सवस्टेसन निर्माणमा सरकारले अभियान नै चलाएको उनले जानकारी दिए। उनले बढी भएको बिजुली मात्रै निकासी गरिने उल्लेख गरे।
कूल १० किलोमिटर लामो सो प्रसारण लाइन निर्माणपछि नेपाल र भारतबीच विद्युत् व्यापारमा समेत नयाँ ढोका खुल्नेछ । कूल दुई सय मेगावाट बराबरको बिजुली प्रवाह गर्न सकिने सो प्रसारण लाइनको निर्माणपछि भारतको नानपाराबाट बाँकेको नेपालगञ्जमा जोडिएको पुरानो लाइन विस्थापित हुनेछ । कम क्षमताको सो प्रसारण लाइनका कारण विद्युत् आपूर्तिमा कठिनाइ हुँदै आएको छ ।
प्रसारण लाइनको निर्माणपछि बाँके र आसपासका क्षेत्रमा औद्योगिक विकास, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार विकासमा टेवा पुग्ने आयोजनाले जनाएकाे छ । यस्तै, विद्युत् खरिद बिक्रीमा सहजता तथा आय आर्जनमा वृद्धि हुनेछ ।