काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सवस्टेसन निर्माणमा सरकारले अभियान नै चलाएको बताएका छन्। बाँकेको नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय र प्रभावकारी विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको कोहलपुर–नेपालगञ्ज सबस्टेसन शिलान्यास गर्दै मन्त्री बस्नेतले प्रसारण लाइनको निर्माण तथा सवस्टेसन निर्माणमा सरकारले अभियान नै चलाएको बताएका हुन्।
उनले आन्तरिकरूपमा बिजुलीको खपत बढाउन सरकार लागिपरेको समेत जानकारी दिए।
नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र सर्वसुलभ विद्युत् आपूर्ति गर्ने लक्ष्य राखिएको सो प्रसारण लाइनको निर्माणपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा थप सहजता पैदा हुने आयोजना प्रमुख रञ्जनराज गुरुङले जानकारी दिए । आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
बढी भएको बिजुली मात्रै निकासी गरिने छ । कूल १० किलोमिटर लामो सो प्रसारण लाइन निर्माणपछि नेपाल र भारतबीच विद्युत व्यापारमा समेत नयाँ ढोका खुल्नेछ। कूल दुई सय मेगावाट बराबरको बिजुली प्रवाह गर्न सकिने सो प्रसारण लाइनको निर्माणपछि भारतको नानपाराबाट बाँकेको नेपालगञ्जमा जोडिएको पुरानो लाइन विस्थापित हुनेछ । कम क्षमताको सो प्रसारण लाइनका कारण विद्युत् आपूर्तिमा कठिनाइ हुँदै आएको छ ।
प्रसारण लाइनको निर्माणपछि बाँके र आसपासका क्षेत्रमा औद्योगिक विकास, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार विकासमा टेवा पुग्ने आयोजना प्रमुख गुरुङको भनाइ छ । यस्तै, विद्युत् खरिद बिक्रीमा सहजता तथा आय आर्जनमा वृद्धि हुनेछ । निरन्तर विद्युत् आपूर्ति, राष्ट्रिय ग्रिड सुदृढीकरण, जनगुनासोमा कमी आउने आयोजनाले विश्वास लिएको छ ।