काठमाडौं। खानी तथा भूगर्भ विभागले जर्मनस्थित जियोटेक्निकल इन्जिनियरिङमा बृहत् अनुभव भएको जिइओएस संस्थासँग सहकार्य गरेसँगै अब नेपालमा पहिरोको पूर्वसूचना थाहा पाउन सकिने भएको छ।
बुधबार पूर्वसूचना थाहा पाउनेसम्बन्धी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र जर्मनी संस्था जिइओएस संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक भए पनि विभिन्न समयमा हुने विपद्का घटनाले ठूलो जनधनको क्षति हुने गरेको बताए ।
सम्झौताले नेपालको भू–प्राविधिक आपत्कालीन तयारी, प्रारम्भिक जोखिम पूर्वानुमान, आपत्कालीन प्रतिक्रिया र जोखिम आँकलनका सन्दर्भमा उल्लेखनीय परिणाम ल्याउने र सहकार्य एउटा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने उनको भनाइ छ।
उनले भौगर्भिक अवस्थालाई परिवर्तन गर्न नसकिने भएकाले उचित व्यवस्थापन गर्नु नै आजको आवश्यकता र चुनौती भएको बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नयाँ प्रविधिले पहिरो पूर्वसूचना प्रणालीबारे सहजै थाहा हुने भएकाले पहिरोबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
जर्मनी संस्था जिइओएसका प्रमुख डा रेन कान्टले नेपालमा पहिरोको जोखिम क्षेत्रको अध्ययन गरी पूर्वसूचना प्रणालीमा लैजानका लागि आफ्नो संस्था खानी विभागसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उक्त परियोजनाका लागि जिइओएसले झण्डै २० लाख युरोसमेत छुट्याएको छ ।