मोरङ। विराटनगर महानगरपालिका–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको सालिक अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले सालिक अनावरण गरेकी हुन्।
सालिक अनावरण गर्दै कार्कीले राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछूत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्त्वपूर्ण रहेको बताइन्।
उनले योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको भन्दै सबै मिलेर उनले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्न जरुरी रहेको समेत बताइन्।
कार्यक्रममा वडा नं.१ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थचन्द्र न्यौपाने, प्राध्यापक कविराज न्यौपाने, समाजसेवी सुरेशकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरे।