काठमाडौं। कर्णाली प्रदेशमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा रहेको तथ्यांक सार्वजनिक भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ । विभिन्न चरणमा प्रवेश गरेर १० हजार मेगावाट क्षमताका जलविद्युत आयोजना विभिन्न प्रक्रियामा छन् ।
हालसम्म ८२ प्रतिशत नागरिकको घरमा ऊर्जाको पहुँच पुगेको हो । कर्णालीमा अहिले ऊर्जा उत्पादनको अवस्था १६.५४ मेगावाट क्षमताका रहेको छ । प्रदेशमा तीन लाख ७१ हजार २६५ घरधुरी रहेका छन् । जसमध्ये तीन लाख सात हजार ८७२ घरधुरीमा विद्युतीकरण गरिएको छ । जसमा राष्ट्रिय प्रसारण लाइनबाट दुई लाख ४६ हजार १३१ घरधुरी विद्युतीकरण भएको र बाँकी ६१ हजार ७४१ घरधुरीमा अन्य नवीकरणीय ऊर्जाबाट विद्युतीकरण भएको छ ।
प्रदेश भर ६३ हजार ३९३ घरधुरीमा विद्युतीकरण हुन बाँकी रहेको छ । दुई वर्षभित्र कर्णालीका सम्पूर्ण घरधुरीमा विद्युतीकरण गर्ने लक्ष्य सरकारको छ । सानाठूला गरेर कर्णालीमा २३६ वटा आयोजना निर्माण सम्पन्न भएका छन् । जसमध्ये दैलेखको नौमूले गाउँपालिकामा रहेको पदमखोला जलविद्युत आयोजना ४.८ मेगावाट र द्वारीखोला जलविद्युत आयोजना ३.७५ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् ।
दैलेखमा नै निर्माण भइरहेको अप्पर लोहोरे खोला जलविद्युत आयोजना ४।० मेगावाट पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको छ । यो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएपश्चात् कर्णाली प्रदेशमा उत्पन्न ऊर्जा स्रकट समाधान हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारको तर्फबाट १० प्रतिशत लागत साझेदारी हुने गरी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट सञ्चालन भएका जाजरकोट जिल्लाका जुनी सौर्य मिनिग्रिड आयोजना (३५ किलोवाट), कुशे ठाँटिकाँध सौर्य मिनिग्रिड आयोजना १६० किलोवाट निर्माण सम्पन्न भएका छन् ।
नलगाड नगरपालिका–८ मसिरी सौर्य मिनिग्रिड आयोजना १८ किलोवाट निर्माणाधीन अवस्थामा रहेको छ । सानाठूला गरेर ७० वटा आयोजनाहरू विभिन्न चरणमा रहेका छन् । कुनै सर्भेका लागि, कुनै उत्पादन अनुमति लगायतका चरणमा रहेका छन् । १४ वटा लघुजलविद्युत आयोजना हाल बन्द छन् । कमजोर व्यवस्थापन, प्राकृतिक विपद् (बाढी पहिरो) का कारणले गर्दा सञ्चालनमा आउन नसकेका हुन् ।
हाल कर्णाली प्रदेशमा १७ वटा जलविद्युत तथा सौर्य ऊर्जा आयोजनाले निर्माण अनुमति प्राप्त गरेका छन् । निर्माणाधीन आयोजनाहरूबाट ९२४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना अध्ययनकार्य सम्पन्न गरी आयोजना निर्माण अनुमति पेस गरिएका नौ वटा आयोजनाबाट दुई हजार ४९१ मेगावाट विद्युत उत्पादनको क्षमता हुनेछ । नेपाल सरकारबाट अध्ययन सम्पन्न भएका ६ वटा आयोजनाबाट १५४ मेगावाट विद्युत उत्पादनको क्षमता रहेको छ ।
सरकारबाट नै हाल अध्ययन भइरहेका १० वटा आयोजनाबाट दुई हजार ३६ मेगावाट विद्युत उत्पादनको क्षमता हुनेछ । प्राविधिक तथा आर्थिक हिसाबले निर्माण गर्न सकिने करिब २० हजार मेगावाट क्षमताका जलविद्युत आयोजनामध्ये समग्रमा कर्णाली प्रदेशमा हाल १० हजार मेगावाटका साना ठूला गरी ७० वटा आयोजना विभिन्न चरणमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका महाशाखा प्रमुख गोपाल शर्माले बताए । कारोबार दैनिकबाट