काठमाडौं। बेनी–तातोपानी सडकखण्ड धमाधम निर्माण भइरहेको छ। म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्डको निर्माण कार्यले तीव्रता पाएको हो।
सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन भदौमा काममा फर्किएका मुख्य ठेकेदारले अहिले कामलाई तीव्र बनाएका हुन्।
मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाका अनुसार उपकरण र मजदुरको संख्या बढाएर फरक–फरक ठाउँमा परिचालन गरिएको छ। ठूलोखोलामा अस्थायी क्रसर स्थापना गरी बेस र सब बेस उत्पादन गरेर सडकमा बिछ्याउने तयारी भएको उनले बताए। उनले नदीजन्य वस्तुको अभाव भएको बताउँदै बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरमा सडक ढलान भइसकेको पनि जनाए।
०७४ साल असोज ४ गते ४५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको यो सडकको ०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो। यो सडकखण्डमा हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
चौथो पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको हो। म्याग्दीको ‘लाइफ लाइन’ मानिने ०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ। बेनी–तातोपानी खण्डको सडक विस्तार गरेर अधिकांश ठाउँमा बेस राखेको थियो। बाँकी रहेको नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम सुरु गरेको ठेकेदार कम्पनीका व्यवस्थापक सदाले जानकारी दिए।
तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो। आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरबाङसम्म आठ किमि खण्ड सडक कालोपत्र गर्न २२ करोड ५७ लाख ९३२ मा ०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो। हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।