पाल्पा। पाल्पामा कालिगण्डकी करिडोरअन्तर्गतको सडकखण्डमा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । जिल्लाको तानसेन नगरपालिका–१४ अन्तर्गत गाईघाट खोलामा पक्की पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको हो ।
कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको अर्गली–रानीमहल सडकखण्ड पक्की भए पनि बीचको एक खोलामा भने पक्की पुल बनेको छैन । बिहीबार पाल्पाको तानसेन–जोर्ते–अर्गली सडकखण्ड जोर्तेमा पहिरो खसेका कारण दिनभर बन्द थियो । उक्त सडकको विकल्पका रूपमा तानसेन–रानीमहल–अर्गली सडक प्रयोग गरिए पनि उक्त खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नुपरेको हो ।
उक्त खोलामा पक्की पुल नहुँदा यात्रुलाई निकै सास्ती भएको अर्गलीका स्थानीय डिलाराम रिजालले बताए । उनका अनुसार, ठूला सवारीसाधान आवतजावत गरे पनि साना र दुई पाग्रे सवारीसाधनका यात्रुलाई बिहीबार दिनभर सास्ती भएको थियो । ‘समूह समूहमा मिलेर सवारीसाधन बोकेर तानुपर्ने अवस्था पनि आयो,’ रिजालले भने, ‘सडक राम्रो भए पनि खोलामा पुल नहुँदा आवतजावतमा निकै समस्या भयो ।’
अर्गलीबाट रानीमहलसम्म डबल लेनको १४ किलोमिटर सडक कालिगण्डकी करिडोरअन्तर्गत रहेको छ । दूरीका हिसाबले पनि ‘अर्गली–रानीमहल–तानसेन’ सडक ‘अर्गली–जोर्ते–तानसेन’ भन्दा एक किलोमिटर कम छ । अर्गली–रानीमहल–तानसेन सडक २६ किलोमिटर लामो छ । त्यस्तै अर्गली–जोर्ते–तानसेन २७ किलोमिटर रहेको छ । रानीमहल हुँदै जाने सडक फराकिलो, जोखिम निकै कम भएको, रानीमहल घुम्न पनि पाइने, दूरी तथा समयका हिसाबले पनि कम रहेको सडक हो ।
अरु सडक निकै राम्रो भए पनि खोलामा पुल नहुँदा यात्रु निकै आक्रोशित बनेका छन् । बुटवलबाट पाल्पा हुँदै गुल्मी जाँदै गरेका यात्रु जंगबहादुर मुखियाले पक्की पुल समयमा नबनाएका कारण आफूहरुले दुःख पाएको बताए । ‘विकल्पका रुपमा यो सडक निकै राम्रो भनेपछि हामी यताबाट आएका हौं,’ उनले भने, ‘खोला बढेको रहेछ, पक्की पुल नहुँदा निकै सकस भयो ।’ कालिगण्डकी करिडोरअन्तर्गत यो सडकमा करिब ४० करोड रुपैयाँ खर्च भएको थियो ।
तानसेन नगरपालिका–१४ अर्गलीका वडाध्यक्ष शोभाखर भट्टराईका अनुसार, पाल्पा सदरमुकाम तानसेन र बुटवल आवतजावत गर्नका लागि गुल्मी र पाल्पाको तल्लो भेगलाई जोर्ते सडकको विकल्प अर्गली–रानीमहल–तानसेन सडकखण्ड रहे पनि अहिले खोला बढ्दा समस्या हो । यस पुलको बिषयमा आफूले पटकपटक माथिल्लो निकायमा भन्दा पनि नबनेको बताउँदै उनले बिहीबार यात्रुले खेप्नुपरेको सास्तीको विषयमा पनि सडक कार्यालयमा जानकारी गराएको बताए ।
कालिगण्डकी करिडोरअन्तर्गत गैंडाकोट–राम्दी–माल्ढुंगा सडक योजनाका प्रमुख शंकर पौडेलले सडकको अन्य काम सकिएको तर पक्की पुल अझै बन्न नसकेको बताए । वर्षायाम वा ठूलो पानी पर्दा खोलामा समस्या भएकाले पक्की पुलको निर्माण सकेसम्म छिटो हुने गरी आफूहरू लागेको सडक योजनाका प्रमुख पौडेलले जानकारी दिए । कारोबार दैनिकबाट