काठमाडौं। सरकारले नारायणगढ–बुटवल र पोखरा–मुग्लिन सडकको ठेक्का तोड्ने भएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा गत बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको बताएका हुन्।
समितिमा मन्त्री ज्वालाले भने, ‘पोखरा–मुग्लिन सडकखण्डको पूर्वतिर काम भएको छ। पश्चिमतर्फको त्यति काम हुन सकेन। सायद अब त्यहाँ ठेक्का सम्झौता तोड्नुपर्ने हुन सक्छ। त्यसको लागि तयारी भइरहेको छ।’
सरकारले पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड र नारायणगढ–बुटवल सडकको पूर्वी खण्ड विस्तारको ठेक्का तोड्ने तयारी गरेको हो। यो दुबै सडकको ठेक्का चिनियाँ कम्पनीले पाएको छ।
मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम भइरहेको छ। आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१.५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ। त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा ८ प्रतिशत प्रगति भएको छ। यो खण्डमा काम सुस्त छ।
पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ भदौसम्म छ।
भौतिक मन्त्रालयका वैदेशिक महाशाखाका सहसचिव अर्जुनजंग थापाले पनि पोखरा–मुग्लिन सडक विस्तारको पश्चिम प्याकेजको ठेक्का तोड्ने तयारी भएको बताए। उनले कामै नगर्ने निर्माण कम्पनीको ठेक्का तोडिने बताए।
नारायणगढ–बुटवल सडक विस्तारको सुरुवाती ठेक्का सम्झौता अनुसार साउनमा सडक विस्तारको काम सकिनुपर्थ्यो। तर समयमै काम नसकिएपछि दोस्रो पटक एक वर्षका लागि म्याद थप गरिएको थियो।
पश्चिम खण्डको म्याद साउन २१ गते सकिएपछि ३५० दिन म्याद थप गरिएको हो। पूर्वी खण्डको म्याद भदौ ११ मा सकिएको छ। पूर्वी खण्डको म्याद ३३० दिन थप्ने योजना तय भएको थियो। तर कामै नगरेपछि ठेक्का तोड्ने निष्कर्षमा मन्त्रालय पुगेको हो।