काठमाडौं। प्रहरीले यातायात व्यवसायीसँगको समन्वयमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा यात्रु सहायता कक्षा स्थापना गरेको छ। दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।
यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौं उपत्यकाको सुन्धारा, नागढुंगा, कलंकी, नयाँ बसपार्क, चावहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगातीलगायत मुख्य स्थानहरुमा उक्त कक्ष स्थापना गरिएको छ।
यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादर भन्दाबढी भाडा लिए नलिएको, लामो दुरीका सवारी साधनमा दुईजना चालक भए नभएको जाँच गर्ने, काउण्टरमा भाडादर टाँस्न लगाउने छ।
यस्तै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याइ बाटोमै अलपत्र पार्ने जस्ता कार्यको पनि निगरानी गरिने बताइएको छ।