काठमाडौं। हेटौंडा उपमहानगरपालिका-१५ मा सञ्चालित ऋद्दिसिद्दी सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएका चुनढुङ्गा खानीका कारण स्थानीयबासी समस्या भोग्दै आएका छन्। उक्त उद्योगले मापदण्डविपरीत जथाभावी चुनढुङ्गा खानी क्षेत्र उत्खनन गर्दा राक्सिराङ गाउँपालिकाका स्थानीय बासिन्दा सस्यामा परेका हुन्।
चुनढुङ्गा उत्खनन कार्यले खानी क्षेत्रको आसपासको सडक बिग्रिने भत्किने, धुलो धुवाँ उड्ने, ध्वनी प्रदूषणलगायत वातावरणीय समस्याबाट स्थानीय पीडित भएकाले उत्खनन् रोक्न स्थानीयले माग गरेका छन्।
सोही गाउँपालिका ४ का वडाध्यक्ष सञ्जय कोइरालाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई शनिबार एक ज्ञापनपत्र बुझाउँदै उत्खनन कार्य तत्काल रोक्न माग गरेका हुन्।
विशेषगरी सिमेन्ट उद्योगद्वारा सञ्चालित चुनढुङ्गा खानीका क्षेत्रमा दिनहुँ उत्खनन गर्दा हेवी मेसिन उपकरणको प्रयोग, टिपरको आवतजावत हुनेहुँदा सडक बिग्रिएकाले स्थानीयवासीमा समस्या हुँदै आएको छ। व्यवस्थितरुपमा उत्खनन कार्य नहुँदा समस्या बल्झिँदै गएको छ।
ज्ञापनपत्रमा खानी क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, मनहरी–चैनपुर–रतुवा– खैराङ हुँदै कैलाश गाउँपालिकासम्म बाटो निर्माणका लागि आग्रह गरेअनुसार बाटो बनाउँदा त्यसको वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, सामुदायिक वनका पदाधिकारीमाथि बाटोका विषयमा मुद्दा खेप्नुपरेको, विगतमा भएको सहमति र सम्झौता कार्यान्वयन नभएको तथा स्थानीयवासीबीच विवाद बढाएकालगायतका कारणले पनि उत्खनन् कार्य तत्काल रोक्नुपर्ने उल्लेख छ।
यसका साथै खानी सञ्चालन गर्नुअघि स्थानीय बासिन्दा, व्यवसायी र सरोकावालाबीच पटकपटक भएको सम्झौता र सहमति कार्यान्वयन नहुँदा उत्खननकर्ता कम्पनी बानियाँ निर्माण सेवा र मोतिदान कन्स्ट्रक्सन प्रालिले स्थानीय व्यवसायीसँग समन्वय नगरी उल्टै प्रहरीप्रशासन लगाएर दुःख दिने कार्य गरेको आरोप वडाध्यक्ष कोइरालाको छ।
जथाभावी उत्खनन तथा दोहनले त्यस क्षेत्रभन्दा बाहिर स्थानीयबासीको घर जग्गा रहेकाले समस्या भएको, खानेपानी मुहानमा समस्या भएको र स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव परिरहेको बताइएको छ।
योजना रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार उद्योगले सञ्चालनमा ल्याएका चुनढुङ्गा खानीका कारण स्थानीयवासीका समस्या देखा परेकाले उद्योगसँग समन्वय गरी समस्या समाधान गर्न पहल गरिने छ। उद्योगले वर्षमा अर्बौं रकम नाफा कमाउने तर निजी स्वार्थका लागि गाउँलेलाई चपेटामा पारेर विस्थापित गर्न लागिएको भन्दै स्थानीयसीले विरोध गरिरहेका छन्।
यस सम्बन्धमा उच्च अदालत पाटन हेटौँडालेसमेत तोकिएको क्षेत्रभन्दा बाहिर गएर उत्खनन नगर्न आदेश जारी गरेको थियो। तरपनि सो आदेशको पालना नगरेको जनसरोकार मञ्च राक्सिराङ वडा नम्बर ४ का मोक्तानले जानकारी दिए।