म्याग्दी। म्याग्दी जिल्लाको बेनी बजारमा सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन थालिएको छ। बेनी नगरपालिकाले बेनीको अस्पतालचोकबाट सडक मापदण्डलाई कार्यान्वयनमा ल्याउनका लागि अतिक्रमित संरचना भत्काउन सुरु गरेको हो।
पटक पटक सूचना जारी गरी संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि नगरपालिकाले बजारभित्र सडकलाई अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउन थालेको छ।
सडक मिचेर बनाइएका र अव्यवस्थितरूपमा बनाइएका पेटी, सिँढी भत्काउने र सडकलाई फराकिलो बनाउन काम अघि बढेको बेनी नगरपालिकाले जनाएको छ।
नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थितरूपमा रहेका बिजुली, केबल र इन्टरनेटका पोल तथा तारसमेत व्यवस्थित गरिसकेको छ । बेनीको वीरेन्द्रचोक, कालीपुल बसपार्क, हस्पिटलचोक, हाँडेभिर क्षेत्र तथा बेनी बजारभित्र पनि धेरै ठाउँमा मापदण्डविपरीतका संरचना छन् । नगरपालिकाले यो आर्थिक वर्षभित्र सबै संरचना हटाउने अभियानअन्तर्गत वीरेन्द्रचोकमा रहेको १५ सटर पसल तथा ट्याङ्की, बसपार्क, कालिपुल, पिपलचोकमा व्यापारिक प्रयोजनको संरचना हटाइसकेको छ ।
नगरपालिकाले डोजर लगाएरै अतिक्रमित संरचना भत्काउन थालेको छ । अतिक्रमित जग्गामा बनेका संरचना भत्काउन जनप्रतिनिधिले समन्वय गर्ने गरी डोजर र नगर प्रहरी परिचालन गरिएको छ।