नुवाकोट। केन्द्रीय कारागार नुवाकोट जिल्लामा सार्न संघीय सरकारले भौतिक संरचना निर्माण गर्न थालेको पनि आठ वर्ष पूरा भएको छ । हाल निर्माणाधीन काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीलाई छैटौं पटक म्याद थप्दासमेत पूर्वाधार निर्माण ९० प्रतिशत मात्र सकिएको छ ।
सात हजार कैदीबन्दी अट्ने क्षमतासहितको अत्याधुनिक कारागार निर्माण तोकिएको समयमा पूरा नहुँदा आयोजनाको लगानी अलपत्र परेको छ । विदुर नगरपालिकास्थित खम्पाली क्याम्पमा निर्माणधिन कारागारमा २०७८ चैत मसान्तसम्ममा कैदीबन्दीलाई स्थानान्तरण गर्ने लक्ष्य थियो । तर कारागार निर्माणले अझै पूर्णता पाउन सकेको छैन । नेपाल सरकारद्वारा बृहत गुरुयोजनासहित केन्द्रिय कारागार भवनको पहिलो चरणमा घेरावार लगाउने काम सम्पन्न भएको छ । तर दोस्रो चरणको निर्माण कार्य पूरा भएको छैन ।
हालसम्मको प्रगति ९० प्रतशत रहेको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका इन्जिनियर अजय भट्टराईले बताए । सम्झौता भएको काम सम्पन्न भएकामा एक हजार तीनसय कैदीबन्दी नुवाकोट स्थानान्तरण हुनेछन् । लामारमण जेभीले २०७६ असोज २९ मा निर्मण सम्पन्न गर्ने गरी २०७३ असोज ३० गते ४७ करोड ८१ लाखमा सम्झौता गरेको थियो । पहिलो पटक २०७७ पुसमा र छेटौ पटक थप गरिएको म्याद पनि २०८० असोज २ गते सकियो तर काम सकिएन ।
आर्थिक वर्ष २०७९/०८० को लागि आठ करोड ७४ लाख बजेज थियो । सोमध्ये आठ करोड ७३ लाख ९५ हजार पाँच ५६ रुपयाँ खर्च भएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना धादिङले केन्द्रीय कारागारको तेस्रो चरणको निर्माण कार्य अन्र्तगत आर्थिक वर्ष २०८०/०८१ देखि निर्माण कार्य थालनी गर्ने गरी गत वर्ष २०७९/०८० अन्तिममा विभागीय तवरमा कार्यक्रम स्वीकृत गरी बोलपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छ ।
आयोजनाले करिव साढे चार अर्ब लागतमा थप ५ हजार ५ सय थुनुवा कैदीबन्दी राख्न विभिन्न संरचनालगायत भवन निर्माणका लागि बोलपत्र आह्वानसहित दर्ता प्रक्रिया पूरा गरिसकेको छ । निर्मार्णाधीन कारागारमा सीप भएका लागि रोजगार कक्ष, खेल मैदान, विशेषज्ञसहितको अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सिप प्रवर्द्धन केन्द्र, योग केन्द्र र किरियापुत्री कक्षलगायतको सुविधा रहने सघन शहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ ।
आयोजनाद्वारा दर्ता भएका बोलपत्रको प्राविधिक प्रस्ताव अध्ययनपश्चात् आर्थिक प्रस्ताव उपर मूल्यांकन गरी निर्माण कम्पनी छनोट कार्य भइसकेको छ । अर्थ मन्त्रालयले कारागार भवनको तेस्रो चरणको निर्माण कार्यका लागि आव २०८०/०८१ का लागि ४० करोड रकम सुनिश्चित गरेको सघन शहरी विकास तथा भवन निर्माण आयोजनाका प्रमुख सुनिल ठाकुरले बताए । ५३४ रोपनी क्षेत्रफलमा निर्माणाधीन केन्द्रीय कारागार अझै पाँच हजार सात सय कैदीबन्दीका लागि राख्न भवन बनाउने पर्ने छ । कारोबार दैनिकबाट