चितवन। नजिकिँदै गरेको दसैँतिहार र छठमा चितवन प्रहरी २४ सै घण्टा आइहलर्टमा रहने भएको छ ।
हिजो पत्रकार सम्मेलन गरेर चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै चितवन प्रहरीले चाडपर्वमा भरपर्दो शान्ति सुरक्षा कामयम राख्ने उद्देश्यले बसपार्कलगायत मानिसको भीडभाड हुने ठाउँमा हाइअलर्टमा रहने जनाएको हो।
चाडपर्वमा हुनसक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजमा हुनसक्ने चोरी, लुटपाट, मादक पदार्थ सेवन गरी होहल्ला, झै–झगडा, गुण्डागर्दी जस्ता अपराधिक गतिविधिहरुलाई मध्यनजर गरी त्यस प्रकारका कुनै पनि घटना हुन नदिने तयारी प्रहरीको सुरक्षा योजनामा समावेश छ । समाजलाई भयमुक्त वातावरण बनाउने र कुनै अप्रिय घटना घटेमा तत्काल सुरक्षा कारबाही गरी भरपर्दो शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले चाडपर्व लक्षित विषेश सुरक्षा योजना निर्माण गरिएको प्रहरीले जनाएको हो ।
प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सुरक्षा योजना सार्वजनिक गर्दै शहरका भीडभाड हुने ठाउँ र बसपार्कहरुमा २४ सै घण्टा प्रहरी अलर्टमा रहने बताएका छन् । प्रहरीले बसपार्कमा यात्रुको पीरमर्का बुझ्न यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ । चितवनमा पुलचोक, पोखरा बसपार्क, केन्द्रीय पारस बसपार्क, मुग्लिन बजारमा रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
त्यसैगरी चितवनका ११७ टोलसुधारसँग समन्वय गरेर प्रहरीले सुरक्षाको रणनीति बनाएको छ । प्रहरीको सुरक्षा योजनामा कमाण्ड पोष्ट, रिजर्भ, स्ट्रइकिङ, क्यूआरटी परिचालन, सिमानामा चेकजाँच, अस्पतालमा उद्धार टोली र १२ वटा समूहमा ट्राफिकसहितको संयुक्त चेकिङ हुने भएको छ । प्रहरीले दसैँतिहार र छठलाई लक्षित गरेर ठाउँठाउँमा सरप्राइज चेकिङ, सवारीसाधनद्वारा मोबाइल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, राजमार्ग गस्ती सञ्चालन गर्नेछ ।
त्यस्तै प्रहरीले चितवनका धार्मिक र पर्यटकीय स्थलको सुरक्षा गर्नुको साथै बैँक सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ। सादा पोशाकमा चेकजाँच र बजार अनुगमन गर्नाको साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्नेछ ।