काठमाडौं। पर्वतस्थित मोदी गाउँपालिकाले गत बैसाखदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ। त्यसैगरी फलेबास नगरपालिका, बिहादी र महाशिला गाउँपालिकाले पनि स्थायी संरचना निर्माण गरेर पालिकाको आर्थिक भार घटाउनतर्फ लागेका छन् ।
स्थानीय तह कार्यान्वयनमा आएदेखि नै भाडाका घरमा बस्दै आएका कुश्मा, जलजला र पैयुं गाउँपालिकाबाहेकका चार स्थानीय तहले ४ वर्षमै आफ्नो कार्यालय निर्माण गरेका छन्। यसैगरी स्थानीय तहमध्ये मोदी गाउँपालिकाले सबै पालिकालाई उछिन्दै आफ्नै स्थायी संरचना निर्माण गरेर सेवा सुरु गरेको हो। जनप्रतिनिधि र स्थानीयवासीको सक्रियतामा करिब एक वर्षको अवधिमै प्रशासकीय भवन निर्माणको काम पूरा भएको मोदीका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिएका हुन्।
कार्यलयको मुख्य भवन अझै निर्माणकै चरणमा रहेको छ। ३ महिनाभित्रै सो भवन बनेपछि सबै विषयगत कार्यालयले आफ्नै भवनबाट सेवा दिने उनले बताएका छन्। यसै वर्षभित्र स्थानीय तहको निर्वाचन भए पनि त्यस अगावै प्रशासकीय भवनको सबै काम सकिने उनले जानकारी दिएका छन्। कार्यलय भवन निर्माणको लागि मोदीमा २ वर्षअघि स्थानीय रामचन्द्र तिमिल्सिना, देवराज गिरी, टिकराम पौडेल, डिल्लीराम पौडेल, धर्मप्रसाद पौडेल, नेत्रप्रसाद पौडेल, प्रेम पौडेललगायतको अगुवाइमा नगद संकलन सुरु गरिएको थियो।
एक वर्षभित्रै गाउँपालिकाका लागि पर्याप्त जग्गा जुटाउने अभियानमा उनीहरूले ८ महिनामै ८० लाख नगद र १२ रोपनी जग्गा जुटाएका थिए। त्यसपश्चात भवन निर्माणको कार्यलाई अगाडी बढाइएको थियो। एक वर्षमै दुईतले प्रशासकीय भवन निर्माण गरेपछि पालिकाको मुख्य प्रशासनिक काम आफ्नै भवनबाट सुरु गरेको हो। भवन निर्माण हुनुभन्दा अघि पालिकाले मासिक करिव १ लाख रुपैयाँ भाडा तिर्दै आएको थियो।
यसैगरी मासिक ४० हजार भाडा दिने गरी ९ कोठे भवन भाडामा लिएर सेवा दिइरहेको पैयुं गाउँपालिकालाई गतवर्ष स्थानीयले १२ रोपनी ५ आना जग्गा दिएका छन्। गाउँपालिको स्थायी भवन निर्माणका लागि पैयुं–४ शेरा भकुन्डेमा स्थानीयले करिव डेढ करोडभन्दा बढी मूल्यबराबरको जग्गा निःशुल्क दिएका हुन्। पैयुंका विभिन्न वडाका ३० जनाले आफ्नो जग्गा दिएको गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानकारी दिएका छन्। जग्गा प्राप्त भएपछि गाउँपालिकाले प्रशासकीय भवन निर्माण कार्य थालेको छ।
करिब दुई वर्ष भाडामा बसेपछि स्थानीय सिँचाइको भवनमा अस्थायी संरचना बनाएर सेवा दिएको फलेबास नगरपालिकाले स्थायी प्रशासकीय भवन निर्माण सुरु गरिसकेको छ। नगरपालिकाको ५ नम्बर वडास्थित झकलकको टुटुङ्गाचौरमा प्रशासकीय भवन निर्माण थालेको पालिकाले एक वर्षभित्रै निर्माण सक्ने लक्ष्य राखेर निर्माण कार्यलाई अगाडी बढाएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिएका छन्।
कुश्माका नगरप्रमुख रामचन्द्र जोशीका अनुसार नगरपालिकाको नाममा रहेको कुश्मा–५ स्थीत बडागाउँमा भवन निर्माणको प्रकृया शुरु भएको छ। त्यसैगरी सुरुदेखि नै मासिक ३० हजार भाडा तिर्दै आएको बिहादी गाउँपालिकाले पनि गएको फागुनदेखि नै आफ्नै भवनबाट सेवा सुरु गरेको छ। पालिकाले आफ्नै स्रोत जुटाएर भवन निर्माण गरेको र अधिकांश विषयगत कार्यालय आफ्नै भवनबाट सञ्चालन गरेको अध्यक्ष कमल भुसालले जानकारी दिएका छन्। यसैगरी महाशिलाले वडा नम्बर ३ बालाकोटको तत्कालीन गाविस भवनलाई विस्तार गरेर आफ्नै भवनबाट सेवा दिइरहेको महाशिलाका प्रवक्ता जीवन उचैठकुरीकाले जनाएका छन्। त्यस्तै जलजला गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गाको खोजी भइरहेको छ।
यसैगरी कुश्मा र मोदीका अधिकांश वडा कार्यालयको भवन निर्माण सम्पन्न भइसकेको छ। केही प्रशासनिक भवननिर्माणको चरणमा रहेका छन् । त्यति मात्रै नभएर स्थानीय तहले आफ्नो पालिकाभित्रका मुख्य सडक कालोपत्र तथा विस्तारका कामलाई तीव्रता दिएका छन्। यसैगरी पूर्वाधार निर्माणमा जोड दिएका पालिकाहरूले मुख्य गरी भवन र सडकलाई प्राथमिकता दिएका छन्।