तनहुँ। तनहुँका स्थानीय तहमा धमाधम शीतभण्डार निर्माण भइरहेका छन्। तरकारी खेती र फलफुलमा पकेट क्षेत्रका रुपमा रहेका स्थानीय तहहरुले किसानको आवश्यकतालाई मध्यनजर गर्दै चिस्यान केन्द्र निर्माणलाई प्राथमिकतामा राखेका हुन्।
आलु र सुन्तलाको लागि पकेट क्षेत्रको रुपमा रहेको जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ लालिममा तीन करोड लागतमा एक सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भइ सञ्चालनको तयारीमा छ।
नगरपालिकाले आलु र सुन्तला खेतीलाई मध्यनजर गर्दै शीतभण्डार निर्माण गरेको हो।
त्यसैगरी व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा निर्माणाधीन चिस्यान केन्द्रको काम पनि अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण गरिएको हो। करिब तीन रोपनी क्षेत्रफलमा एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा एक सय ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको हो ।
त्यसैगरी म्याग्दे गाउँपालिकाले म्याग्दे–३ मा दुई करोडको लागतमा दुई सय मेटिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ ।
यो पालिका पनि सुन्तला र आलु खेतीका लागि प्रख्यात मानिन्छ । चिस्यान केन्द्रमा विद्युत् ट्रान्समिटर जडान बाँकी रहेकाले अन्तिम चरणमा रहेको बताइएको छ।
बन्दीपुर गाउँपालिका कार्यालयले भने चार वर्षअघि चिस्यान केन्द्र निर्माणका लागि ठेक्का लगाए पनि हालसम्म निर्माण सुरु हुन सकेको छैन। बन्दीपुर–१ नाहालामा निर्माणाधीन चिस्यान केन्द्र निर्माण अघि बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी जिल्लाको आँबुखैरेनी गाउँपालिकामा सहकारीमार्फत सङ्घीय सरकारको अनुदानमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ ।
स्थानीय तहमा चिस्यान केन्द्र निर्माण भएसँगै उत्पादित तरकारी एवं फलफूल बिक्रीमा सहज हुने कृषकको आशा रहेको छ ।