धनगढी। चैतन्य इन्टिच्युट फर रिसर्च एन्ड डेभ्लप्मेन्ट प्रालिले धनगढीमा सुशासन, दिगो विकास तथा समृद्ध सुदूरपश्चिम विषयक राष्ट्रिय सेमिनार गर्ने भएको छ। शिवनगरस्थित चैतन्य पाठशालामा पत्रकार सम्मेलन गर्दै २९ र ३० मंसिरमा सेमिनार बारे जानकारी गरिएको छ।
चैतन्य एकेडेमी विगत ११ वर्षदेखि मानव संशाधन विकास, व्यवस्थापन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा निरन्तर रूपमा क्रियाशील स्वतन्त्र संस्था हो। यसअघि चैतन्यले सुशासन र समृद्धिका विषयमा १० वटा सेमिनारको आयोजना गरिसकेको छ।
पहिले काठमाडौं केन्द्रित सेमिनार हुँदै आएकोमा यसपटक सुदूरपश्चिम प्रदेश लक्षित गरेर धनगढीमा सेमिनार आयोजना गर्न लागिएको चैतन्य ग्रु्पका सिइओ गणेशप्रसाद जोशीले जानकारी दिए।
नेपाली भाषा, साहित्य र सभ्यताकै जननीस्थलका रूपमा रहेको काली–कर्णाली क्षेत्रको गौरव गाथालाई आत्मसात गर्दै भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासका पक्षलाई उजागर गर्ने र यस प्रदेशलाई सभ्यता, चेतनाको अगुवा प्रदेशको रुपमा विकास गर्ने उद्देश्यले यस सेमिनारको आयोजना हुन लागेको बताइएको छ।
सुदूरपश्चिम प्रदेशको मूल पहिचान र गौरवगाथालाई माथि उठाउने उद्देश्यका साथ आयोजना हुने उक्त सेमिनारलाई सफल तुल्याउन सबैको रचनात्मक सहयोगको अपेक्षा गरेको जोशीको भनाइ छ।