जाजरकोट। नलगाड जलविद्युत आयोजनाको डीपीआर प्रतिवेदन तयार भएसँगै ४१७ मेगावाट विद्युत उत्पादन क्षमताको नलगाड हाइड्रोपावर कम्पनीले अर्को सहायक आयोजनाको रूपमा रहेको ताक्सुगाड जलविद्युत आयोजनासँग विद्युत खरिद बिक्री गर्न सम्झौता भएको छ । नेपाल विद्युत प्राद्यिकरण कर्णाली प्रदेशसँग नलगाड हाइड्रोपावर कम्पनीले विद्युत खरिदबिक्री गर्न सम्झौता गरेको हो ।
७.१ मेगावाट क्षमता रहेको ताक्सुगाड जलविद्युत आयोजना यसै आर्थिक वर्षमा निर्माण कार्यमा लैजानका लागि विद्युत खरिदबिक्री सम्झौता (पीपीए) को काम गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए। भेरी करिडोरमा सञ्चालनमा रहेको ३३ केभी र निर्माणधीन १३२ केभी प्रसारण लाइनसँग ताक्सुगाड, नलगाड जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत जोडनका लागि पीपीए गरिएको हो ।
झण्डै सात वर्षदेखि रुमलिएको नलगाड जलविद्युत आयोजनाको डीपीआर प्रतिवेदन तयार भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतकै पहलमा निर्माण कार्यमा लैजानका लागि लगानीकर्ताको खोजीदेखि प्राविधिक काम सम्पन्न गर्न प्रक्रिया सुरु भएको छ । नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट निर्माण गर्नका लागि आवश्यक पर्ने विद्युत उत्पादन गर्न ताक्सुगाड जलविद्युत आयोजना ७.१ मेगावाट निर्माण गर्न लागिएको हो ।
नलगाड हाइड्रोपावर कम्पनीको सहायक आयोजनाका रुपमा ताक्सुगाड रहँदै आएको छ । ताक्सुगाड निर्माणका लागि कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले रकम विनियोजन गरेको मन्त्री उर्मिला विकले जानकारी दिइन् । २० मेगावाटसम्मका विद्युत आयोजना प्रदेशले बनाउन सक्ने भन्ने लक्ष्यका साथ ताक्सुगाडमा प्रदेशले बजेट विनियोजन गरेको मन्त्री विकले बताइन् ।
नलगाड जलविद्युत आयोजना निर्माण गर्दा प्रयोग हुने जग्गाको मुआब्जाको काम पूरा भएको इन्जिनियर पदम थापाले बताए । अब पाँच सयभन्दा बढी घरको मुआब्जा दिन बाँकी रहेको उनले बताए । घरको मुआब्जा दिनका लागि प्रक्रिया सुरु भए पनि ह्रास कट्टी गर्ने कि नगर्ने भन्ने एकिन नहुँदा घरको मुआब्जा दिन ढिलाइ भइरहेको थापाले बताए ।
केही दिनअघि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, संघीय सरकारका अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थमन्त्री महतसँग नलगाड जलविद्युत आयोजनास्थलका घर टहराको मुआब्जा दिँदा ह्रास कट्टी नगर्ने गरी मुआब्जा दिने विषयमा छलफल भएको थियो ।
ताक्सुगाड जलविद्युत आयोजना निर्माणस्थलका सर्वसाधारणलाई मुआब्जा दिनका लागि दररेट कायम गर्ने कार्य अन्तिम चरणमा पुगेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । ताक्सुगाड ७।१ मेगावाट, नलगाड ४१७ मेगावाट र जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको विद्युत नलगाड नगरपालिका–७ दानीपिपलमा निर्माधीन सबस्टेसनमा जोडने लक्ष्य रहेको छ । दानीपिपल स्टेसनको मुआव्जाको काम पूरा भएर जग्गा अधिग्रहणको कामसमेत पूरा भइसकेको छ । अब सबस्टेसन निर्माण चरणमा जाने योजना रहेको छ ।
जाजरकोटभरि विद्युतीकरण गर्नका लागि नयाँ तीन वटा सबस्टेसनको काम जारी छ । नलगाडको चौखामा सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने कुशेको समाइला र छेडागाडको वडावनमा मुआब्जाको दररेट टुंगो लागेर निर्माण चरणमा प्रवेश गरेको छ । चौखा सबस्टेसनले तल्लो डोल्पालाई समेत विद्युतीकरण गर्ने लक्ष्य रहेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र बगरमा निर्माण हुने सबस्टेसनसम्म विद्युत लिनका लागि चौखाको सबस्टेसन प्रयोग गरिने छ ।
सानाठूला सबस्टेसन निर्माणसँगै दानीपिपल सबस्टेसनबाट १५० किलोमिटर टाढाको दूरीमा रहेको सुर्खेतको भेरीगंगा नगरपालिकाको मैनतडामा लिएर अर्को सबस्टेसनमा जोडिने लक्ष्य लिइएको छ । यो ४०० केभीको डबल सर्किट रहेको छ । ओभरहेड ट्रान्समिसन लाइनका लागि नाङ्गो केबल र वितरण लाइनका लागि प्राथमिक, माध्यमिक केबलको रूपमा यसलाई लिइएको छ । यो निर्माणका लागि १४ अर्ब रुपैयाँ खर्च हुने डीपीआरमा उल्लेख छ । त्यस्तै जाजरकोट जिल्लाभरि विद्युतीकरण गर्नका लागि तीन अर्बको ठेक्का लागेको छ ।
अहिले ३३ केभी प्रसारण लाइनको विद्युतबाट जिल्लाका केही भागमा विद्युतीकरण गरिएकोमा १३२ केभी प्रसारणलाइन निर्माण कार्य जारी रहँदा त्यसलाई नै सपोर्ट पुग्ने गरेर काम भइरहेको मन्त्री बस्नेतको भनाइ छ । जाजरकोटमा विद्युतको संरचना निर्माण नगरी छिमेकी जिल्ला डोल्पामा सबै काम गर्न समस्या हुने भएकाले पनि यहाँ कामलाई तीव्रता दिइएको छ । डोल्पामा विद्युतीकरण गर्नका लागि अघिल्लो वर्ष ठेक्का लगाएको छ । कारोबार दैनिकबाट