काठमाडौं। तमोर–मेवा जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ। ताप्लेजुङमा निर्माण हुने १२८ मेगावाटको आयोजनाको लागि नेपाल विद्युत प्राधिकरण र आयोजनाको प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीबीच पिपिए भएको हो ।
पिपिएमा प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीकोतर्फबाट भानेन्द्रकुमार लिम्बुले हस्ताक्षर गरेका छन्।
आयोजनाको विद्युत सुख्खा याममा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा खरिद–बिक्री गर्ने गरी पिपिए भएको अध्यक्ष लिम्बुले जानकारी दिए । उनका अनुसार आयोजनाको प्रवद्र्धक कम्पनीले ८ पटकसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाउनेछ ।
पिपिए अनुसार प्रवर्द्धक कम्पनीले २०८५ सालको असोज २५ गतेभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नु पर्नेछ । विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई गरी प्राधिकरणले प्रस्ताव गरेको दर स्वीकृत भएपछि पिपिएमा हस्ताक्षर भएको हो ।
अहिले आयोजना स्थलमा निर्माणको पूर्व तयारीका कामहरू भइरहेका छन् । आयोजना निर्माण गर्न २४ अर्ब २३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आवश्यक कूल लगानीको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण हुनेछ । २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
बैंक तथा वित्तीय संस्थासँग ऋण लगानी सम्झौता हुन अझै ६ महिना लाग्ने हुँदा स्वपुँजीबाट मंसिरदेखि नै निर्माण सुरु गर्न लागेको अध्यक्ष लिम्बुले बताए।
ताप्लेजुङको तमोर र मेवा नदीको पानी उपयोग हुने गरी निर्माण हुने यो आयोजना सम्पन्न हुँदा वार्षिक ७११.४३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।
आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोर प्रसारण लाइन अन्तर्गत अहिले निर्माण भइरहेको २२० केभी ढुंगेसाँघु सबस्टेसनमा लगेर जोडिनेछ ।