काठमाडौं। यस वर्षको मनसुनमा जलविद्युत आयोजनामा मात्र ९ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यस वर्षको मनसुन अवधिभर जलविद्युत आयोजनामा मात्र ९ अर्ब रुपैयाँ बराबरको क्षति भएको हो।
प्राधिकरणको तथ्यांक अनुसार पक्की पुलमा १ अर्ब २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी निजी आवासमा करिब ३३ करोड, सडक, करिडोर तथा राजमार्गमा २८ करोड, झोलुङे पुलमा १२ करोड र खानेपानी संरचनाहरुमा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको तथ्यांक छ ।
बाढीपहिरो, चट्याङ र डुबान लगायतका विपदबाट कोशी प्रदेशमा १९, बागमतीमा १८, गण्डकीमा १४, कर्णालीमा ११, सुदूरपश्चिममा ६ र मधेश प्रदेशमा ४ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।
६१३० परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने २४३ निजी घरमा पूर्ण र ७२० वटा घर आंशिक क्षति पुगेको छ । यसबाट निजी आवासतर्फ करिब ३३ करोड रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ ।
मनुसन अवधिमा १५ वटा पक्की पुल क्षतिग्रस्त हुँदा १ अर्ब २० करोडको क्षति अनुमान छ । त्यसैगरी २७ वटा झोलुङे पुलमा १२ करोड, सडक, करिडोर तथा राजमार्गमा २८ करोड अनुमानित क्षति पुगेको छ ।
खानेपानी संरचनाहरुमा करिब ८ करोडको क्षति अनुमान गरिएको छ । कृर्षितर्फ ३२१ पशुचौपाया र १२३९ रोपनी खेतीयोग्य जमिन नष्ट भएको छ । सिंचाइतर्फ ३ करोड ५० लाखको क्षति भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार संचालनमा आइसकेका १३, निर्माणाधीन १७ र लघु २७ गरी ५७ वटा जलविद्युतमा क्षति पुग्दा करिब नौ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।