धादिङ। हिमाली क्षेत्र रुवीभ्यालीमा दसैंका लागि बस सेवा सुचारु हुने भएको छ। धादिङवेसी तिप्लिङ सडक मर्मतको काम अन्तिम चरणमा पुगेकाले असोज ३० अर्थात् (हिजो) मंगलबारबाट काठमाडौं तिप्लिङ बस सेवा सञ्चालन गर्ने तयारी छ।
‘अब पानी पर्न कम भयो । हिउँद लाग्यो । दसैं लाग्यो सहर बजारमा रहेका मानिस परिवारजनसँग भेटघाट र पर्व मनाउन गाउँ आउँछन् । गाडीमै घरसम्म पुर्याउन नसके पनि गाउँ नजिकसम्म गाडीमै पुर्याउन पर्छ भनेर सडक मर्मत गरिरहेका छौं’ रुवीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङले बताए ।
‘रसुवा जिल्लाको सोमदाङ तिप्लिङ सडक सुचारु गरिसकेका छौं । रुवीभ्यालीभित्रको सडक पनि मर्मत गरिसकेका छौं । अब खनियावास तेर्सोको पहिरो हटाउने काम सकिन लागेको छ । ढिलो गरी काम सकिए पनि मंगलबारसम्म पहिरो पन्छाई सकिन्छ र गाडी मंगलबार साँझ रुवीभ्याली नै पुग्ने छ । काठमाडौंदेखि धादिङबेसी ८४ किलोमिटर छ । धादिङबेसीदेखि रुवीभ्याली एक सय किलो मिटर होला । अब एक दिनमै काठमाडौंबाट रुवीभ्याली पुग्न सकिन्छ’ अध्यक्ष तामाङले बताए ।
रुवीभ्यालीमा नियमित यातायातका साधान सञ्चालन गर्न रुवीभ्याली–१ गोगने खोलामा मोटरेबल पुन र्निर्माण गर्नुपर्नेछ । यसैगरी वडा नं. २ र ३ जोड्ने आधाखोला, वडा नं. ४ प्यान्टिसिया, वडा नं. ४ र ५ जोड्ने पुल निर्माण गर्न पर्नेछ । यसै वर्ष प्रादेशिक सडक डिभिजन कार्यालयले डीपीआर गर्ने योजना छ । वडा नं. ४, ५ ६ जोड्न आँखुखोला पुल निर्माण ठेक्का भइसकेको छ । लिस्ने खोलाको पुल निर्माण गर्न पनि ठेक्का भइसकेको छ । यी पुलहरू निर्माण भए रुवीभ्यालीमा बाह्रै महिना यातायात सञ्चालन हुन्छ ।
यस क्षेत्रमा उत्पादन भएका कृषिउपज आलु, सिमीले बजार पाँउछ । यस वर्ष लापा, खादिङ र जिल्लाकै माथिल्लो मानबबस्ती रहेको लिन्जोमा पनि सडक पुर्याउने योजना रहेको अध्यक्ष तामाङले बताए । चीन सरकारले सीमावर्ती क्षेत्रका पालिकालाई स्काभेटर दिएको छ । गाउँपालिकाले अघिल्लो हिउँदमै १४ ड्रम डिजेल गाउँमै लगेर राखेकोले सडक मर्मत गर्न सहज भयो । दसैंका लागि सडक सुचारु गर्न सकियो ।
यदि स्काभेटर गाउँपालिकाको नभएको भए र डिजेल गाउँमै भण्डारण नगरेको भए सडक मर्मत गर्न निकै कठिन हुन्थ्यो प्रमुख प्रशासकीय अधिकृत राजाराम खतिवडाले बताए । ‘अब जेठसम्म सडक नियमित सञ्चालनमा रहन्छ । आवश्यकताअनुसार सडक मर्मत गरिरहन्छौं’ खतिवडाले भने । ‘रुवीभ्याली प्रकृतिको उपहार हो । रुवीभ्यालीको विकासमा सरकारले चासो नदेखाएकाले पछाडि परेको हो । रुवीभ्यालीसम्म बाह्रै महिना यातायातको साधन सञ्चालन गरेर पर्यटकीय गन्तव्य बनाएर यहाँका मानिसको रोजीरोटी चलाउने योजना छ।’
यस क्षेत्रमा उत्पादन भएका कृषिउपज आलु, सिमी, जौ, गहुँ, मकैको बजारीकरण गरेर शहरको पैसा गाउँ ल्याउने योजना छ । अहिले एक सय मेगावाटको हाराहारीमा जलविद्युत उत्पादन गर्न परियोजना सञ्चालनमा छन् । यहाँका रुवी छ छँदैछ । काठमाडौंबाट धादिङेबेसी हुँदै रुवीभ्इाली र रुवीभ्यालीबाट रसुवा हुँदै काठमाडौं जाने चक्रपथ हुने अध्यक्ष तामाङले बताए। कारोबार दैनिकबाट