काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा पछिल्लो समय राती १२ः०० बजेसम्म आन्तरिक उडानका जहाज अवतरण हुन थालेका छन्। मौसमका कारण आन्तरिक उडानमा ढिलाइ हुँदै गएपछि मध्यरातसम्म जहाज अवतरण हुन थालेको हो।
यसरी राति अबेरसम्म उडान गर्ने आन्तरिक वायुसेवाहरुमा बुध्द, यती, श्री, सौर्य लगायत निजी हवाई कम्पनीहरु रहेका छन्।
आन्तरिक वायुसेवा कम्पनीहरुको अनुसार पछिल्लो समय यात्रुको चापका कारण उडान माग नै बढ्दै गएको छ। यसरी बढ्दो माग सम्बोधन गर्न थप गरिएका उडान तालिका त्यसै पनि लम्बिएको अवस्था छ भने जाडो बढेसँगै मौसम प्रतिकुलताका कारण डिले भएका फ्लाइटले नियमित उडान तालिका बिथोलिएको छ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बिहानको समयमा मौसम प्रतिकुलताका कारण तालिकामा डिले हुँदा अहिले मध्यरातसम्म उडान हुँदै आएको हो। उनका अनुसार जाडोयाममा पोखरा, भैरहवा, नेपालगञ्ज, जनकपुर, विराटनगर लगायत विमानस्थल मौसमका कारण बन्द हुँदै आएको छ।
उनका अनुसार एक पछि अर्को डिले हुँदै गएपछि राती उडान गर्नुपर्ने अवस्था आएको हो। दिउँसो भीड हुँदै गएपछि पछिल्लो समय आन्तरिक वायुसेवा कम्पनी रात्रीकालिन समयको सदुपयोगमा लागेको उनको भनाइ छ।
निजी वायुसेवा कम्पनी बुध्द एयरले काठमाडौं-विराटनगर-काठमाडौं रुटको उडानका लागि राती ९ः३० बजेसम्मको तालिका बनाएर टिकट बिक्री गरिरहेको छ। रातीको समयमा चार्टर फ्लाइट त भएको छ। यातायात सहजता र वायुसेवा कम्पनीले चासो देखाएको अवस्थामा हामी आन्तरिकतर्फ उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीलाई आइएफआर लागु हुने विमानस्थलमा उडान अवतरण अनुमति दिन तयार छौँ। यस्ता वायुसेवा कम्पनीलाई हामी स्वागत गर्छौं,उनले भने।