काठमाडौं। नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी चालू आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानहरुमा जिएसएम टुजी र फोरजी सेवा विस्तार गरेको छ।
टेलिकमले सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलिकप्टरबाट उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरेको जनाएको छ। यी टावरहरुबाट टेलिकमले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराउने छ।
गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरुमा सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ।
यसैगरी, अन्य तीन दुर्गम र विकट स्थानहरुमा हेलिकप्टरबाटै सामान ढुवानी गरी छिटै टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ, नाचिपाङ र दार्चुलाको ब्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिने बताइएको छ।
अहिले यी स्थानहरुमा संरचना निर्माण भइरहेको टेलिकमले जनाएको छ। सेवा सञ्चालनमा आए पश्चात यी क्षेत्रका सेवाग्राहीहरुले गुणस्तरीय भ्वाइस तथा डेटा सेवा प्रयोग गर्ने सक्ने छन्। तुलनात्मक रुपमा लगानी बढी हुने तर व्यावसायिक रुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानहरुमा समेत टेलिकमले दूरसञ्चार सेवा विस्तार कार्यलाई अघि बढाइरहेको छ।