काठमाडौं। लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको भुक्तानीका लागि अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी निकासीको लागि परिपत्र जारी गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ दशैंअघि नै भुक्तानी गर्ने भन्दै अर्थमन्त्रालयले परिपत्र जारी गरेको हो।
अर्थमन्त्रालय स्रोतका अनुसार निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेको र निकासीको लागि परिपत्र जारी गरिसकेको छ। उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था समेत गरिएको जनाइएको छ।
तर व्यवहारिक रुपमा हेर्दा दशैंअघि निर्माण व्यवसायीको भुक्तानी उपलब्ध हुने सम्भावना देखिँदैन। आइतबारदेखि दशैंबिदा, भोलि शनिबार भएकाले दशैंअघिको समय भनेको आज एक दिन मात्र बाँकी छ। मन्त्रालयले निकासीका लागि परिपत्र गरेपनि आज एक दिनमा भुक्तानी कार्यान्वयन हुने सम्भावना भने न्यून देखिन्छ।
कतिपय काम गरेको बिल सरकारी सबइन्जिनियर र इन्जिनियरहरूले पैसा नभएका कारण प्रमाणित नै नगरी राखेको अवस्था छ। इन्जिनयरबाट प्रमाणित भएपनि कार्यालय प्रमुखले नगरेको अवस्था पनि छ। बजेट नआएपछि अधिकांश कर्मचारी समेत असोज मसान्तबाट नै दशैंबिदामा भएकाले पनि आज अर्थात दशैंअघि निर्माण व्यवसायीको रकम भुक्तानी हुने सम्भावना भने अत्यन्तै न्यून देखिन्छ।
कर्मचारी कार्यालयमा नै भए पनि आज कोष तथा लेखा नियन्त्रण कार्यालयमा चाप धेरै हुन्छ। जसले गर्दा निर्माण व्यवसायीको खातामा रकम आएपनि ढिला गरी आउन सक्छ। शुक्रबार भएकाले दिउँसो एक बजे नै बैंक बन्द हुने हुँदा निर्माण व्यवसायीले आफ्नो खातामा आएको रकम आफ्ना मजदुर, निर्माण सामग्री सप्ल्यार्स तथा अन्यलाई भुक्तानी गर्न समय नहुन सक्छ।
एकातर्फ निर्माण व्यवसायीले आज भुक्तानी पाउने सम्भावना व्यवहारीक रुपमा पनि न्यून छ। पाइहाले पनि ढिलो गरी पाउने हुँदा निर्माण व्यवसायीले आफूले बैंकमार्फत भुक्तानी गर्ने ठाउँमा भुक्तानी गर्न समय नपाउने सम्भावना देखिन्छ। दशैंअघि नै भुक्तानी दिने भन्ने आश्वासन त छ नै भुक्तानी पाएपनि दशैंबिदाको मुखमा पाएको भुक्तानी रकम आवश्यक ठाउँमा तिर्न र खर्च गर्न समेत नपाउँदा सरकारले पठाएको बजेटबाट दशैंअघि निर्माण व्यवसायीको समस्या नसुल्झने देखिन्छ।