काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन सहयोग गर्न सरोकारवाला निकाय र स्थानीयसँग आग्रह गरेको छ। स्थानीयले विभिन्न माग राख्दै विभिन्न ठाउँमा गरेको अवरोधका कारण निर्माण कार्य अघि बढ्न नसकेपछि प्राधिकरणले अवरोध हटाउन आग्रह गरेको हो।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको प्रसारण लाइनको लम्बाइ २८८ किलोमिटर छ । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हेटौँडा–ढल्केबर खण्डतर्फ चार किलोमिटर र ढल्केबर–इनरुवा खण्डतर्फ ४० गरी ४४ किलोमिटर तार तानिएको छ । तार तान्न हाल ढल्केबर–इनरुवा खण्डतर्फ केन्द्रित गरिएको छ ।
पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नु पर्छ । यसमध्ये ७५७ वटा टावरको जग हालिएको छ । ७५० वटा टावर खडा गरिएको छ । स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै जारी राखेको अवरोधका कारण बाँकी ३५ वटा टावरको काम नै सुरु हुन सकेको छैन ।
हेटौँडा उपमहानगरपालिकाका वडा १५, १६ तथा १७ स्थित हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब छ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४ वटा, हेटौंडा–११ स्थित थानाभ¥याङमा दुई वटा र जियाजोर क्षेत्रमा आठ वटा टावर निर्माणमा अवरोध छ । थानाभ¥याङमा सबस्टेसनमा लाइन छिराउन दुई वटा टावर निर्माण गर्नुपर्ने छ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुने छन् ।
प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत अल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले निर्माण प्रभावित भइरहेको छ ।