दोलखा। दोलखाको भीमेश्वर नगरपालिका–४ स्थित जिलु सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गर्न सुरु गरिएको छ। वनको ७५ रोपनी जग्गामा देउराली पाण्डव पार्क निर्माण गर्न सुरु गरिएको हो।
बागमती प्रदेशको एक करोड रुपियाँभन्दा बढी लगानीमा केही संरचना निर्माण भएको देउराली पाण्डव पार्क निर्माण उपभोक्ता समिति अनुगमन समितिले जनाएको छ।
गुरुयोजनामा उल्लेख भएकामध्ये एक करोड २८ लाख रुपियाँमा पिकनिक भवन, दुई वटा ट्रसका टहरा, दुईकोठे शौचालय धारा, गोल आकारका छ वटा सुविधासम्पन्न यात्रु प्रतीक्षालय, करिब १५० मिटर लम्बाइ र २० मिटर चौडाइको ठुलो मैदान, छेउ र भित्तामा रिटेनिङ वाल गत साल नै तयार भएको छ ।
यो वर्ष ट्रसका टहरा, दुईवटा गजेबु, १३० मिटर लम्बाइ तीन मिटर उचाइ दुई मैदानमा स्टेल बिछ्याइएको ३० मिटर, ढलान ३० मिटर, फलामे रेलिङ १३० मिटर, दुईकोठे शौचालय, एक हजार लिटर क्षमताको पानी ट्याङ्की एक, छ सय मिटरमा पाइप गाड्ने कार्य, ३० मिटरमा सिमेन्ट सिँढी, फलामे बेन्च ३० वटा, ३० मिटर वाल, किरा गुफाको ४५ मिटर घेराबार कार्य सम्पन्न भएको छ ।
खानेपानी लाइन जोड्ने, विद्युतीकरण र कम्पाउन्ड गर्ने कार्य बाँकी रहेको छ । किंवदन्ती तथा पौराणिक ग्रन्थमा उल्लेख रहेका पाँच पाण्डवको गुप्तवाससँग जोडिएको यो स्थललाई पुरातात्विक हिसाबले बहुवर्षीय योजना अनुसार निर्माण गर्दै लगिने उद्देश्य राखिएको छ ।