चितवन। पूर्वी चितवनको खैरहनीमा तटबन्ध अभियान सुरु गरिएको छ। खैरहनी नगरपालिकाको प्रमुख बजार क्षेत्र र पर्सासहित प्रायः सम्पूर्ण भाग वर्षात्को समयमा डुब्ने समस्या समाधान गर्न तटबन्ध अभियान सञ्चालन गरिएको हो ।
नगरपालिकाले आन्तरिकसहित सङ्घीय र अन्य निकायबाट समेत बजेट जुटाएर अभियानकै रूपमा तटबन्ध थालेको छ ।
पर्सा बजारमा हरेक वर्ष डुबान गर्ने लदरी, ढुङ्ग्रे, बुढीराप्ती, इचर्नी खोला र मगनी घोलमा तटबन्ध र आरसिसी पर्खालको काम भइरहेको छ ।
राष्ट्रिय योजना आयोगमा आग्रह गरेर कयर खोलाको तटबन्ध गरिएको छ । रु ४५ करोड हाराहारीमा खैरहनी र रत्ननगर नगरपालिकाको तीन दशमलव पाँच किलोमिटर तटबन्धको काम सम्पन्न भएको छ । त्यस्तै ढुङ्ग्रे खोलामा भारतीय राजदूतावासको सहयोगमा वडा नं ७ र १० को सीमा क्षेत्रमा करिब रु छ करोड ५० लाख लागतमा तटबन्धको काम अन्तिम चरणमा पुगेको छ।
नगरपालिकाले आफ्नै स्रोतबाट रु साढे छ करोड व्यवस्था गरी चतरा खोला, लदरी खोला, बुढी राप्ती, पटेनी खोलाको तल्लो भाग, वडा नं ५ र ६ को बीचमा रहेको गौचरनको छेउमा तटबन्धको काम भइरहेको छ ।
बुढी राप्ती खोलाको छेउमा अपाङ्गतामैत्री सडकसमेत निर्माण गरिएको छ भने डुङ्गा सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । कयर, बुढी राप्ती, पटेनी, ढुङ्ग्रे खोला छेउछाउका ठाउँमा झण्डै पाँच हजार वृक्षरोपण गरिएको छ । यसले भू–क्षय रोक्न सहयोग पुग्ने बताइएको छ ।