काठमाडौं। अमेरिकाकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सबस्टेसन निर्माणमा सात वटा निर्माण कम्पनीले टेन्डर पेस गरेका छन्। एमसिसी कार्यान्वयन गर्ने निकाय मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले गत १० चैत ०७९ देखि २ कात्तिक ०८० सम्मको अवधि राखेर सबस्टेसन निर्माणका लागि आह्वान गरेको टेन्डरमा सात कम्पनीको आवेदन परेको हो।
आवेदन दिने कम्पनीहरुमा भारतको पाँच, साउदी अरेबिया एक र टर्की तथा अफगानिस्तान संयुक्तमा एक गरी सात कम्पनी छन्।
यसअन्तर्गत रातमाटे, बुटवल र दमौलीमा चार सय केभी क्षमताका एक–एकवटा सबस्टेसन बन्दै छन् । उक्त तीन सबस्टेसनलाई तीन समूहमा विभाजन गरेर टेन्डर आह्वान गरिएको थियो ।
आवेदन दिनेमा भारतका टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले (लट १ र २), लिनसन इन्डिया प्रालिले (लट १, २ र ३), टाटा इन्डिया प्रालिले (लट २), साइमेन्स लिमिटेडले (लट १, २ र ३) र केइसी इन्टरनेसनलले (लट १, २ र ३) आवेदन दिएका छन् । यसैगरी, टर्की र अफगानिस्तानको संयुक्त कम्पनी बेतास एन्ड जेटएनसिसीले लट दुईका लागि टेन्डर पेस गरेका छन् । यसैगरी, साउदी अरेबियाको नेसनल कन्ट्राक्टिङ कम्पनी लिमिटेडले लट दुई र तीनमा टेन्डर हालेको एमसिए नेपालले जानकारी दिएको छ ।
सबस्टेसन निर्माणमा आवेदन दिने सातै कम्पनी विदेशी हुन् । सबस्टेसन निर्माणमा मात्रै ९ करोड ९० लाख १४ हजार डलर बजेट छुट्याइएको यति ठूलो परियोजनामा नेपाली कम्पनीको आवेदन परेको छैन ।
सबस्टेसन निर्माणको टेन्डरमा नेपाली कम्पनीले जोइन्ट भेन्चरमा समेत प्रस्ताव गरेका छैनन्।