सुर्खेत। मदन भण्डारी राजमार्गको विषयलाई लिएर स्थानीय नागरिकले निर्माण व्यवसायीको फोटो रुखमा टाँगेर प्रश्न उठाएका छन्। नागरिकहरुले रुखमा संघीय सांसद समेत रहेका निर्माण व्यवसायी दीक्पालकुमार शाहीको तस्बिरसहितको पोस्टर टाँसेर लेखेका छन्, ‘माननीय ठेकेदार दीक्पाल शाहीज्यू बाटो कहिले बन्छ?’
यसअघि पनि यहाँका स्थानीय नागरिकले सामाजिक संजालमा स्टाटसमार्फत निर्माण व्यवसायीको खोजी गरेका थिए।
मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–खब्बागाडेसम्म १३ किलोमिटर कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले ठेक्का लिएको छ । उक्त कम्पनी दैलेख क्षेत्र नम्बर २ बाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य दीक्पालकुमार शाहीका छोरा सन्देश शाहीको हो ।
कुनै समय शाहीले नै ठेकेदार भएर काम गरे पनि अहिले पूर्ण रुपमा कम्पनी छोराको नाममा छ । तर, राजनीतिकै आडमा उक्त ठेक्का सांसद शाहीले पार्न सफल भएको र उक्त खण्डमा काममा ढिलाइ भएको आरोप लगाउँदै स्थानीयले सांसद शाहीको विरोध गरिरहेका छन्।
सांसद शाहीको तस्बिरसहित लेखिएको ‘माननीय ठेकेदार दीक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’ भन्ने पोस्टर यतिबेला सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेको छ।
गत वर्षको असारमा पूर्व सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी उक्त सडक स्तरोन्तीको शिलान्यास गरेका थिए।
पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा उक्त सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो।