रुपन्देही। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गर्दै व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन्। नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने भन्दै व्यवसायीहरुले आन्दोलनका कार्यक्रम समेत तय गरेका हुन्।
नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी क्षेत्रको अर्बौं लगानी डुब्न लागेको भन्दै व्यवसायीले रिले अनसन बस्नेदेखि आन्तरिक उडान रोक्ने, सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
निजी क्षेत्र र सामाजिक संघसंस्थाका गरी ३२ वटा संस्था आबद्ध सिद्धार्थ संजाल रुपन्देहीले सोमबारदेखि ३५ दिनको अल्टिमेटम दिएर आन्दोलन घोषणा गरेको संजालले जनाएकाे छ।
सञ्जालले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि विभिन्न क्षेत्रका संघसंस्था, ट्राभल्स, एयरलाइन्सलगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका, गाउँपालिकालगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरुलाई भेटी आन्दोलनमा ऐक्यबद्धताका लागि आग्रह गर्ने जनाएको छ ।
विमानस्थल बनाउन मुआब्जासहित करिब ४० अर्ब लगानी भएको छ । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट पाँचतारे सहित तारे होटेल र अन्य व्यवसायमा झण्डै ८० अर्ब लगानी भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने भन्दै व्यवसायी चिन्तामा छन् ।