जुम्ला। राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर हालसम्म करिब २६३ किमि सडक निर्माण भएको छ । एक दशकदेखि निर्माणाधीन यो आयोजना कठिन भूगोलका कारण सुस्त गतिमा निर्माण भइरहेको छ ।
कुल २६८ किलोमिटर लम्बाइको सो सडकमा हालसम्म २६३ किमि सडकको ट्रयाक निर्माण भइसकेको छ भने अब बाँकी पाँच किलोमिटर सडकको ट्रयाक खोल्नमात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । ट्रयाक खोल्न बाँकी पाँच किमिमध्येको झण्डै साढे दुई किलोमिटर सडकको काम यतिबेला नेपाली सेनाले गरिरहेको छ । कर्णाली करिडोर कर्णाली समृद्धिको एकमात्र मार्गका रूपमा हेरिएको सडक हो।
यस सडकमा संघीय सरकारले अपेक्षित बजेट लगानी गर्न सकेको छैन । आर्थिक समृद्धि तथा व्यापारी गतिविधि बढाउन कर्णाली करिडोरको निर्माण जरुरी देखिन्छ । एक दशक पहिले सडक निर्माण सुरु भए पनि कठिन भूगोलका कारण अझैसम्म पूर्ण रूपमा ट्रयाक खोल्न सकिएको छैन । कडा चट्टान भएका खण्डमा ‘ब्लास्टिङ’ पनि लामो र झन्झटिलो प्रक्रिया रहेको योजनाले जनाएको छ ।
ब्लास्टिङका लागि आवश्यक सामग्री सेनाबाट लिनुपर्ने हुँदा समय लाग्ने गरेको हिल्सा सिमिकोट सडक योजनाका प्रमुख वीरेन्द्रबहादुर चन्दले बताए । उनले भने, ‘कठिन भूगोलका कारण अपेक्षित काम गर्न सकिएको छैन । ब्लास्ट गर्नुपर्ने धेरै ठाउँ छ । वर्षेनी बारुदको अभाव हुन्छ । नेपालगन्ज हुँदै निर्माणस्थलमा आइपुग्न लामो प्रक्रिया हुने गरेको छ । सिमिकोटभन्दा माथि मौसमका कारण चार महिनाभन्दा काम गर्न सकिँदैन । तर पनि हामीले काम गरिरहेका छौं ।’
कतिपय खण्डमा भने निर्माण व्यवसायीका कारणले ढिलाइ भएको देखिन्छ । माथिल्लो भागमा सामान पहिले चीन भएर आउने गरेकामा कोभिडका कारण नाका बन्द भयो । त्यसले गर्दा पनि विगत वर्षमा निर्माणले गति लिन नसकेको प्रमुख चन्दले बताए । सेनाले जिम्मेवारी लिएको खण्डबाहेक अरुतिर ट्रयाक खोल्न ठेक्का भइसकेको छ ।
माथिल्लो क्षेत्रमा ट्रयाक पनि खुलिसकेको र हुम्लाभन्दा तल्लो क्षेत्रमा मात्रै दुई ठेक्का बाँकी छ । हुम्ला सलिसल्लाबाट सिमिकोट खण्डमा ट्रयाक नै खोल्न बाँकी रहेको छ । खुलालुदेखि सलिसल्लासम्म स्तरोन्नतिको काम भइरहेको आयोजनाले जनाएको छ । यस वर्ष पनि स्तरोन्नतिका लागि ठेक्का हुने उनले बताए । यस वर्ष ग्राभेल गरिने योजनाको तयारी छ । यो कालिकोटको खुलालुदेखि चीनसम्म जोड्ने मार्ग हो । कारोबार दैनिकबाट